मधुमेहसँगै धूम्रपान गर्नेमा मृत्युको जोखिम ५५ प्रतिशत बढी

मधुमेहसँगै धूम्रपान गर्नेमा मृत्युको जोखिम ५५ प्रतिशत बढी

काठमाडौँ । मधुमेह भएका व्यक्तिले धूम्रपान गर्दा स्वास्थ्यमा गम्भीर असर पर्ने मात्र होइन, अकाल मृत्युको जोखिमसमेत उल्लेख्य रूपमा बढ्ने एक नयाँ अध्ययनले देखाएको छ। अध्ययनअनुसार धूम्रपान गर्ने मधुमेहका बिरामीमा मृत्युको जोखिम धूम्रपान नगर्ने बिरामीको तुलनामा ५५ प्रतिशतसम्म बढी हुन्छ।

‘डायबिटिज रिसर्च एन्ड क्लिनिकल प्राक्टिस’ जर्नलमा प्रकाशित उक्त अध्ययन भारतसहित १३ देशका ३५ जना विशेषज्ञको सहभागितामा तयार गरिएको हो। अध्ययनले विशेषगरी टाइप–२ मधुमेहका बिरामीको उपचारमा धूम्रपान त्यागलाई पनि नियमित उपचारकै एउटा महत्वपूर्ण हिस्सा बनाउनुपर्नेमा जोड दिएको छ।

अध्ययनका क्रममा ११ लाख ३० हजार मानिसलाई समेटिएका ४८ वटा अध्ययनको मेटा–विश्लेषण गरिएको थियो। त्यसबाट धूम्रपान गर्ने मधुमेहका बिरामीमा मृत्युको जोखिम ५५ प्रतिशत बढी रहेको पाइएको हो।

त्यस्तै, करिब एक लाख ३० हजार मधुमेहका बिरामीमा गरिएको अर्को अध्ययनले पनि धूम्रपान गर्नेहरूमा समग्र मृत्युको जोखिम ४८ प्रतिशत बढी रहेको देखाएको छ। उनीहरूमा मुटुसम्बन्धी रोगका कारण मृत्यु हुने जोखिमसमेत ३६ प्रतिशत बढी पाइएको थियो।

धूम्रपान छोड्न औषधिसँगै परामर्श आवश्यक

विशेषज्ञहरूका अनुसार मधुमेहका बिरामीलाई एकपटक धूम्रपान छोड्न आग्रह गरेर मात्र पुग्दैन। धूम्रपान त्याग्न सहयोग पुग्ने गरी नियमित परामर्श, फलोअप र आवश्यकताअनुसार औषधि उपचारलाई पनि निरन्तरता दिनुपर्छ।

अध्ययनले धूम्रपानको लत छुटाउन पहिलो रोजाइका रूपमा भारेनिक्लिन प्रयोग गर्न सुझाव दिएको छ। यो औषधि उपलब्ध नभएमा वा बिरामीका लागि उपयुक्त नभएमा निकोटिन रिप्लेसमेन्ट थेरापी (एनआरटी) वा बुप्रोपियन प्रयोग गर्न सकिने बताइएको छ।

तर औषधि मात्र पर्याप्त नहुने भएकाले त्यससँगै व्यवस्थित र गहन व्यवहारगत परामर्श दिनुपर्ने नयाँ अन्तर्राष्ट्रिय सिफारिसमा उल्लेख छ।

धूम्रपान छोडेपछि पनि निगरानी

धूम्रपान छोडिसकेपछि पनि बिरामीको स्वास्थ्य अवस्थालाई नियमित रूपमा निगरानी गर्नुपर्ने विशेषज्ञहरूको सुझाव छ। धूम्रपान छोडेको दुई साताभित्र र त्यसपछि चार सातामा बिरामीको पुनः जाँच गर्न सिफारिस गरिएको छ।

फलोअपका क्रममा रक्तचिनीको स्तर, रक्तचाप र तौलजस्ता विषयमा निगरानी गर्नुपर्छ। धूम्रपान छोडेपछि शरीरमा केही औषधिको प्रभाव परिवर्तन हुन सक्ने भएकाले आवश्यकताअनुसार औषधिको मात्रा समायोजन गर्नुपर्ने हुन सक्छ।

अध्ययनले मधुमेह भएका व्यक्तिका लागि धूम्रपान त्यागलाई केवल जीवनशैली सुधारको विषय नभई मृत्यु र मुटुसम्बन्धी जटिलताको जोखिम घटाउने महत्वपूर्ण उपचारात्मक उपायका रूपमा लिनुपर्ने देखाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार