• २०८३ भाद्र २६ गते शुक्रवार
  • Preeti To Unicode

भक्तपुरमा ६० ग्यास सिलिन्डर सर्वसाधारणलाई वितरण, कालोबजारी आरोपमा दुई पक्राउ

भक्तपुरमा ६० ग्यास सिलिन्डर सर्वसाधारणलाई वितरण, कालोबजारी आरोपमा दुई पक्राउ

भक्तपुर । जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६० वटा ग्यास सिलिन्डर सर्वसाधारणलाई वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको नेतृत्वमा बिहीबार साँझ गरिएको अनुगमनका क्रममा ती सिलिन्डर आवश्यक परेका सर्वसाधारणलाई वितरण गरिएको हो । ब्याङ्क्वेट सञ्चालकले असोजमा पार्टी प्यालेसमा धेरै भोज हुने भएकाले चितवन पुगेर बिहीबार मात्र ग्यास ल्याएको जानकारी दिएका छन् । स्थानीय प्रशासनको अनुरोधमा आवश्यक परेकालाई ग्यास वितरण गरिएको उनको भनाइ छ । यसैबीच, जिल्ला प्रहरीले ग्यास कालोबजारी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–२ इटाछेबाट १४ वटा सगर ग्यास सिलिन्डरसहित ४१ वर्षीय राजेश कर्मचार्य तथा सूर्यविनायक नगरपालिका–३ ब्रह्मनगरस्थित सर्लाही जनरल स्टोरका सञ्चालक २५ वर्षीय उमेश साहलाई पक्राउ गरिएको हो । सर्लाहीको बरहथवा नगरपालिका–७ का साहले प्रतिसिलिन्डर दुई हजार ८०० रुपैयाँमा ग्यास बिक्री गर्दै आएको सूचना पाएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको पसलबाट ७५ वटा हिमाल ग्यास सिलिन्डरसमेत जफत गरिएको छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार