विराटनगर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ र ४ मा पर्ने हुङ्गा (हुङ्कु) खोला पहिरो खसेपछि थुनिएको छ। शुक्रबार बिहान गएको पहिरोका कारण खोला अवरुद्ध भई करिब १०० मिटर लामो र १५ मिटर गहिरो कृत्रिम ताल बनेको सोलुखुम्बुका प्रहरी प्रमुख डीएसपी नविनराजा बुढाथोकीले जानकारी दिए।
गौरीशंकर हाइड्रोपावरको हेड अफिसबाट करिब १०० मिटर तल वडा नम्बर–२ तर्फ करिब ३५ मिटर अग्लो पहिरो खसेर खोला थुनिएको हो। पहिरोले खोला थुनिएपछि बनेको कृत्रिम ड्याममाथिबाट अहिले बिस्तारै पानी बग्न थालेको प्रहरीले जनाएको छ। यससँगै तत्काल ठूलो जोखिम केही कम भएको भए पनि ड्याम जुनसुकै बेला फुट्न सक्ने सम्भावना भने कायमै रहेको बताइएको छ।
ड्याम फुटेमा हुङ्गा खोलाको पानी तल्लो तटीय क्षेत्र हुँदै सोताङ गाउँपालिका र थुलुङ दुधकोशी गाउँपालिका हुँदै खोटाङ तथा ओखलढुङ्गाको दुधकोशी नदीसम्म प्रभाव पार्न सक्ने जोखिम रहेको प्रहरीले जनाएको छ। सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै नदी किनारमा बसोबास गर्ने स्थानीयवासी तथा नजिकै रहेका दुईवटा हाइड्रोपावर आयोजनालाई सतर्क रहन आग्रह गरिएको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय बुङबाट करिब १० किलोमिटर दक्षिण–पूर्वमा पर्छ। प्रहरी नायव उपरीक्षक बुढाथोकीका अनुसार पहिरोमाथिबाट पानी बग्न थालेकाले हाल ठूलो जोखिम नरहे पनि ड्यामको अवस्था पूर्ण रूपमा सुरक्षित नभएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आवश्यक छ।