तीजको सौन्दर्य महङ्गीमा होइन, जिम्मेवारी संवेदना र आत्मीयतामा हुनुपर्छ

तीजको सौन्दर्य महङ्गीमा होइन, जिम्मेवारी संवेदना र आत्मीयतामा हुनुपर्छ

तीज नेपाली समाजको एउटा यस्तो पर्व हो, जसलाई केवल धार्मिक अनुष्ठानका रूपमा बुझेर पुग्दैन। यो आस्था हो, संस्कृति हो, पारिवारिक सम्बन्धको सेतु हो, महिलाको सामाजिक अभिव्यक्तिको ऐतिहासिक माध्यम हो र समयसँगै परिवर्तन हुँदै गएको नेपाली समाजको ऐना पनि हो। तर हरेक पर्वको अर्थ समय र परिस्थितिले पनि निर्धारण गर्छ। देश अहिले प्राकृतिक विपत्तिको पीडाबाट गुज्रिरहेको बेला तीजलाई कसरी मनाउने भन्ने प्रश्न उठ्नु स्वाभाविक हो। यस वर्ष नेपालले बाढी र पहिरोको अत्यन्त पीडादायी अवस्थाको सामना गरिरहेको छ। रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा आएको बाढी तथा पहिरोले विशेषगरी त्रिशूली नदी आसपासका बस्ती, सडक, पुल, जलविद्युत् आयोजना र घरहरूमा ठूलो क्षति पुर्‍याएको छ। हजारौँ मानिस प्रभावित भएका छन् भने धेरै परिवारले आफन्त, घरबार, व्यवसाय र भविष्यका योजनासमेत गुमाएका छन्। यस्तो अवस्थामा तीज हाम्रो घरआँगनमा आइपुगेको छ। तीज त पोहोर साल पनि आएको थियो, यस वर्ष पनि आएको छ। तर प्रश्न यो होइन कि यसपालि तीज मनाउने कि नमनाउने? वास्तविक प्रश्न हो—यसपालि तीज कसरी मनाउने?हरितालिका तीज हिन्दु धार्मिक परम्परामा भगवान् शिव र पार्वतीसँग सम्बन्धित पर्व हो। धार्मिक किंवदन्तीअनुसार पार्वतीले भगवान् शिवलाई आफ्नो जीवनसाथीका रूपमा प्राप्त गर्न कठोर तपस्या गरेकी थिइन्। उनका साथीहरूले उनलाई इच्छा विपरीतको विवाहबाट जोगाउन सुरक्षित स्थानमा लगेको कथासँग हरितालिकाको प्रसङ्ग जोडिएको छ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने यो पर्व धार्मिक आस्था, पूजा, व्रत तथा पारिवारिक सुख–शान्तिको कामनासँग जोडिएको छ। नेपालको सांस्कृतिक जीवनमा तीजको विशेष महत्त्व छ। पूजा, व्रत, दर, नाचगान, दिदीबहिनी तथा चेलीबेटीको भेटघाट र माइती जाने परम्परा यसका प्रमुख पक्ष हुन्। तर तीजको धार्मिक आस्थालाई केवल बाहिरी प्रदर्शनमा सीमित गर्नु यसको गहिरो अर्थलाई सङ्कुचित गर्नु हो। तीजले महिलालाई मात्र होइन, समग्र समाजलाई सहअस्तित्व, आपसी सम्मान, दाम्पत्य सम्बन्धको पवित्रता, नारी शक्ति, सहभागिता, समानता, आत्मअनुशासन, विश्वास र सहकार्यको सन्देश दिन्छ। धर्मको मूल मर्म मानिसलाई अनुशासन, करुणा, सहअस्तित्व र सदाचारतर्फ लैजानु हो भने विपत्तिमा परेका मानिसप्रति संवेदनशील हुनु पनि धार्मिक आस्थाको मानवीय रूप हो।नेपाली समाजमा तीजको सामाजिक महत्त्व अझ गहिरो छ। परम्परागत समाजमा महिलाहरूलाई आफ्ना दुःख, पीडा, इच्छा र असन्तुष्टि खुला रूपमा व्यक्त गर्ने अवसर सीमित थियो। त्यस्तो अवस्थामा तीजका गीत, नाचगान र सामूहिक भेटघाट महिलाको मनको कुरा व्यक्त गर्ने सांस्कृतिक माध्यम बने। माइती र चेलीबीचको सम्बन्ध बलियो बनाउने, टाढा रहेका दिदीबहिनीलाई भेट गराउने, सुख–दुःख साट्ने र सामाजिक सम्बन्धलाई नवीकरण गर्ने अवसरका रूपमा पनि तीजको विकास भयो। यसैले नेपाली समाजमा तीजलाई महिलाको सामाजिक एकता र अभिव्यक्तिको पर्वका रूपमा बुझ्ने आधार बनेको हो। तर आज समाज बदलिएको छ। महिलाहरू शिक्षा, रोजगारी, राजनीति, व्यवसाय, सञ्चार तथा सार्वजनिक जीवनका विभिन्न क्षेत्रमा सक्रिय छन्। त्यसैले आजको तीजले पुराना पीडा मात्र गाउने होइन, महिलाका उपलब्धि, आत्मनिर्भरता, अधिकार, समानता, नेतृत्व र देश निर्माणका सपना पनि गाउनुपर्छ। हिजो समाजमा भएका घटना, दुर्घटना र अन्यायविरुद्ध तीजका गीतमार्फत आवाज उठाइन्थ्यो भने आज विकास, प्रगति, अधिकार, समानता र महिला सशक्तीकरणका विषय पनि तीजका गीतमा आउन थालेका छन्। यसले के देखाउँछ भने संस्कृतिको निरन्तरता आवश्यक भए पनि त्यसको अभिव्यक्ति समयअनुकूल परिवर्तन हुनुपर्छ।पछिल्ला वर्षहरूमा तीजको स्वरूपमा ठूलो परिवर्तन आएको छ।

सामाजिक सञ्जाल, बजार र मनोरञ्जन उद्योगले तीजलाई अझ व्यापक बनाएका छन्। यसले नयाँ पुस्तासम्म तीजको संस्कृति पुर्‍याउने सकारात्मक भूमिका खेलेको छ। तर यसको अर्को पाटोलाई पनि गम्भीरतापूर्वक हेर्न आवश्यक छ। तीज भनेको महँगा साडी, गरगहना, होटलका भोज, ठूलो खर्च र सामाजिक सञ्जालमा प्रदर्शन गर्ने प्रतिस्पर्धा मात्र होइन। जब एउटा परिवारले हजारौँ रुपैयाँ खर्च गरेर पर्व मनाइरहेको हुन्छ र अर्को परिवारले त्यही समयमा आधारभूत आवश्यकता पूरा गर्न सङ्घर्ष गरिरहेको हुन्छ, त्यहाँ उत्सवको सामाजिक अर्थमाथि प्रश्न उठ्नु स्वाभाविक हुन्छ। पर्व रोक्नुपर्छ भन्ने मान्यता होइन, तर पर्वका नाममा हुने अनावश्यक खर्च, देखासिकी र प्रतिस्पर्धालाई भने पुनर्विचार गर्नुपर्छ। उपभोक्तावादी संस्कृतिले महिलाको क्षमता र व्यक्तित्वभन्दा बाहिरी सौन्दर्य, पहिरन र प्रदर्शनलाई बढी महत्त्व दिन सक्छ। हामीले भने नयाँ पुस्तालाई नेपाली संस्कृति, रीतिरिवाज र परम्परालाई समयअनुकूल विकसित गर्दै हस्तान्तरण गर्न सक्नुपर्छ।यस वर्ष परिस्थिति सामान्य छैन। बाढी र पहिरोले धेरै परिवारमा बिछोड ल्याएको छ। कतिपय घरबारविहीन भएका छन्, कतिपयले आफन्त गुमाएका छन् भने कतिपय आफ्ना प्रियजनको अवस्थाबारे अझै अनिश्चित छन्। व्यवसाय, रोजगारी र भविष्यका योजनासमेत प्रभावित भएका छन्। भौतिक संरचना पुनर्निर्माण गर्न सकिएला। घर, सडक, पुल र अन्य संरचना फेरि बनाउन सकिएला। तर मानवीय क्षतिको पूर्ति कहिल्यै सम्भव हुँदैन। श्रीमतीले उही श्रीमान्, श्रीमान्ले उही श्रीमती, बाबुआमाले उही छोराछोरी र छोराछोरीले उही बाबुआमा फेरि पाउन सक्दैनन्। त्यसैले यस्तो अवस्थामा तीज मनाउँदा केही संयम अपनाउनु मानवता पनि हो। यस वर्ष बजारमा विगतजस्तो साडी तथा अन्य सामग्रीको बिक्री नहुन सक्छ। पार्टी प्यालेसमा तीजका कार्यक्रम पनि कम हुन सक्छन्। यो परिस्थितिअनुसार स्वाभाविक हो। तर पीडितको सम्मान गर्नु भनेको सम्पूर्ण समाजले खुसी मनाउनै छोड्नु होइन। दुःखमा रहेका परिवारलाई साथ दिँदै जीवनप्रतिको आशा जोगाउनु पनि उत्तिकै आवश्यक छ। पर्वहरू मानिसलाई कठिन समयबाट मानसिक रूपमा उभिन मद्दत गर्ने सामाजिक शक्ति पनि हुन्। त्यसैले तीजलाई पूर्ण रूपमा निराशाको पर्व बनाउनु उचित हुँदैन। बरु यसपालि तीजलाई ‘खुसीसँगै जिम्मेवारी’ को पर्व बनाउन सकिन्छ।यस वर्ष तीज मनाउने क्रममा केही नयाँ सामाजिक अभ्यास सुरु गर्न सकिन्छ। तीजका कार्यक्रमका लागि छुट्याइएको खर्चको केही हिस्सा बाढी–पहिरो प्रभावित परिवारलाई सहयोग गर्न प्रयोग गर्न सकिन्छ। पार्टी प्यालेसमा हुने अत्यधिक खर्चिला कार्यक्रमलाई केही हदसम्म घटाएर स्थानीय समुदायमा राहत, खाद्यान्न, शैक्षिक सामग्री वा अन्य आवश्यक सहयोग जुटाउने अभियानसँग जोड्न सकिन्छ। त्यसैगरी, तीजका गीतमार्फत विपद् प्रभावित नागरिकको आवाज उठाउन सकिन्छ। गीत मनोरञ्जनको साधन मात्र होइन, समाज परिवर्तनको माध्यम पनि हो। महिला समूह, आमा समूह, सहकारी, सामाजिक संस्था तथा विभिन्न सामाजिक सङ्गठनहरूले तीजलाई महिला आत्मनिर्भरता र विपद् सहयोगसँग जोड्न सक्छन्। सामाजिक सञ्जालमा महँगा पहिरन र भोजको प्रदर्शनभन्दा ‘एक परिवार–एक सहयोग’ वा ‘एक कार्यक्रम–एक सामाजिक योगदान’ जस्ता अभियान सञ्चालन गर्न सकिन्छ। यसले तीजको मौलिकता घटाउँदैन, बरु यसको सामाजिक मूल्य, मान्यता र महत्त्व अझ बढाउँछ।समाजको विकाससँगै कुनै पनि संस्कृति स्थिर रहँदैन। संस्कृति पनि समयसँगै विकसित र परिमार्जित हुँदै जान्छ। हिजोको तीज र आजको तीज एउटै स्वरूपमा छैन। भोलिको तीज पनि आजकै जस्तो रहने छैन। त्यसैले तीजमा सुधारको बहसलाई धर्म र संस्कृति विरोधी बहसका रूपमा बुझ्नु हुँदैन। धार्मिक आस्थाको सम्मान गर्दै सामाजिक विकृति हटाउन सकिन्छ। व्रत बस्ने वा नबस्ने व्यक्तिगत आस्थाको विषय हुन सक्छ। तर महिलाको स्वास्थ्यलाई जोखिममा पार्ने अभ्यासलाई प्रोत्साहन गर्नु आवश्यक छैन। त्यस्तै, तीजमा महिलाले मात्र परिवारको सुख–समृद्धिको जिम्मेवारी लिनुपर्ने पुरानो सोचलाई पनि आजको समानतामूलक समाजले पुनर्विचार गर्नुपर्छ। शिव–पार्वतीको सम्बन्धलाई आदर्श मान्ने हो भने त्यसको मूल भाव आपसी सम्मान, सहकार्य र समानतामा आधारित हुनुपर्छ।

तीजको आधुनिक अर्थ महिला स्वतन्त्रता र सशक्तीकरणसँग पनि जोडिनुपर्छ। हिजो तीजका गीतमा महिलाका पीडा र वेदना गाइन्थे भने आज महिलाले आफ्ना अधिकार, उपलब्धि र सम्भावनाका गीत पनि गाउनुपर्छ। हिंसाविरुद्ध आवाज उठाउनुपर्छ। शिक्षा, रोजगारी, आर्थिक आत्मनिर्भरता, नेतृत्व र राजनीतिक सहभागिताका विषयलाई तीजका बहसमा अझ बलियो रूपमा उठाउनुपर्छ। तीजमा रातो सारी लगाउनु संस्कृति हुन सक्छ, तर महिलाको जीवनमा सम्मान, सुरक्षा र समान अवसर सुनिश्चित गर्नु त्यो संस्कृतिको अझ गहिरो अर्थ हो। तीजमा माइती जानु आत्मीयता हो, तर विवाहपछि पनि छोरीलाई आफ्नै परिवारको समान सदस्यका रूपमा सम्मान गर्नु अझ ठूलो सामाजिक संस्कार हो। तीजमा दर खानु परम्परा हो, तर विपन्न परिवारका बालबालिकालाई एक छाक खाना, एक थान कपडा वा पढाइका सामग्री उपलब्ध गराउनु पनि समाजप्रतिको दरकै एउटा नयाँ र मानवीय रूप हुन सक्छ।यसपालिको तीजलाई एउटा नयाँ सामाजिक सन्देशसँग जोड्न सकिन्छ—‘मेरो तीज, हाम्रो जिम्मेवारी।’ आफ्नो घरमा पूजा गरौँ, परिवारसँग रमाऔँ, दिदीबहिनी भेटौँ, तीजका गीत गाऔँ र आफ्नो संस्कृति जोगाऔँ। तर त्यही समयमा विपत्तिमा परेका नेपालीलाई पनि सम्झौँ। एकातिर तीजको रातो रङ होस्, अर्कोतिर पीडितको जीवनमा आशाको रङ भर्ने प्रयास होस्। एकातिर शिव–पार्वतीको पूजा होस्, अर्कोतिर मानवताको सेवा होस्। एकातिर माइती–चेलीको भेट होस्, अर्कोतिर विपत्तिले छुट्याएका परिवारको पुनर्मिलनका लागि समाजले हातेमालो गरोस्। यसो गर्न सकियो भने तीज केवल क्यालेन्डरमा आउने एउटा पर्व हुने छैन, यो सङ्कटमा समाजलाई जोड्ने सामाजिक शक्ति पनि बन्न सक्छ।पर्वहरू मानिसका लागि हुन्, मानिस पर्वका लागि होइनन्। त्यसैले समय र परिस्थिति अनुसार पर्व मनाउने शैली परिवर्तन हुनु स्वाभाविक हो। तीज हाम्रो धार्मिक आस्था मात्र होइन, संस्कृति पनि हो। संस्कृति हो भने त्यो सामाजिक स्मृति पनि हो। सामाजिक स्मृति हो भने त्यससँग हाम्रो सामूहिक जिम्मेवारी पनि जोडिन्छ। यस वर्ष देशका कतिपय भूभागमा चुलो नबलेको हुन सक्छ। कतै घर भत्किएको छ, कतै परिवारको सदस्य हराइरहेको छ, कतै विद्यालय बन्द भएको छ। विपत्तिमा परेका नागरिकहरू आफ्नो भविष्य कहाँबाट सुरु गर्ने भन्ने चिन्तामा छन्। यस्तो बेला तीजको वास्तविक परीक्षा हाम्रो पोसाक, गहना वा भोजमा होइन—हाम्रो संवेदनामा हुनेछ।त्यसैले यसपालि तीज नमनाउने होइन, तीज मनाऔँ—तर संयमका साथ। तीज मनाऔँ—तर संवेदनाका साथ। महिला अधिकार, समानता र आत्मनिर्भरताको आवाजसँगै तीज मनाऔँ। आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिऔँ। तर मानवतालाई केन्द्रमा राख्न भने कहिल्यै नबिर्सौँ। सायद यही हुनेछ यस वर्षको तीजको सबैभन्दा सुन्दर सन्देश। किनकि संस्कृति त्यतिबेला मात्र जीवित रहन्छ, जब त्यसले समयको पीडा बुझ्छ। धर्म त्यतिबेला मात्र अर्थपूर्ण हुन्छ, जब त्यसले मानिसप्रति करुणा जगाउँछ। यस वर्षको तीजलाई उत्सवबाट संवेदनातर्फ, प्रदर्शनबाट सेवातर्फ र परम्पराबाट प्रगतिशील संस्कृतितर्फ लैजाने अवसर बनाऔँ। देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली महिला दिदीबहिनीहरूमा तीजको हार्दिक शुभकामना!

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार