काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री (मुस्लिम क्लस्टर) पदमा उम्मेदवारी घोषणा गरेका छन्। कुपन्डोलमा आज बिहान पत्रकार सम्मेलन गर्दै सत्तारले आगामी महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। पार्टी नेतृत्वसँगको सरसल्लाहपछि आफूले उम्मेदवारी घोषणा गरेको उनले जानकारी दिए। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम संघका संस्थापक अध्यक्षसमेत रहेका सत्तारले १५ वर्षसम्म संघको नेतृत्व गरेका थिए। १२औँ महाधिवेशनदेखि महाधिवेशन तथा महासमिति सदस्यका रूपमा काम गर्दै आएका उनी १४औँ महाधिवेशनबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका थिए। गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट पनि उनी केन्द्रीय सदस्य निर्वाचित भएका थिए। ‘लामो समयदेखि भ्रातृ संस्था र पार्टीका विभिन्न तहमा रहेर काम गर्दै आएको छु,’ सत्तारले भने, ‘मैले गरेका कामको मूल्यांकन देशभरका साथीहरूले गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।’ उनका अनुसार पार्टी नेतृत्वले आगामी महाधिवेशनमा प्यानल नबनाउने बताएको छ।