दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चमा पेसी

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चमा पेसी

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूलाई पक्राउ गर्नु गैरकानुनी भएको दाबी गर्दै दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ। प्रसाईंको रिटमा न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ हुने भएको हो।

यसअघि न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले प्रसाईंलाई पक्राउ गर्नुको आधार र कारणसहित ४८ घण्टाभित्र लिखित जवाफ पेस गर्न सम्बन्धित निकायलाई आदेश दिएको थियो।

प्रसाईंलाई प्रहरीले असार १२ गते पक्राउ गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीका आधारमा प्रहरीले प्रसाईंमाथि विद्युतीय अपराधसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ। प्रसाईंले युट्युबमार्फत सांसद खतिवडाका छोराको शवसँग सांसद पद साटेको भन्दै अपमानजनक टिप्पणी गरेको आरोप छ। उक्त आरोपमा अनुसन्धान भइरहेका बेला पक्राउ परेका प्रसाईंले भने आफ्नो पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका हुन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार