काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आजदेखि औपचारिक निर्वाचन प्रक्रिया शुरू हुँदैछ। आइतबार काठमाडौँको खुलामञ्चमा महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएसँगै कांग्रेस बन्दसत्र हुँदै निर्वाचन प्रक्रियातर्फ अघि बढ्न लागेको हो।
बन्दसत्रअघि खुलामञ्चमा कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ। बैठकका लागि कांग्रेसका नेताहरू खुलामञ्चमा आउने क्रम शुरू भएको छ। चिया–नास्ता तथा खाजापछि नेताहरू बैठकस्थलमा भेला हुन थालेका हुन्। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार बन्दसत्रमा पेस गरिने प्रतिवेदनहरू केन्द्रीय कार्यसमितिबाट पारित भएपछि मात्रै बन्दसत्र शुरू हुनेछ। पार्टीका विभिन्न समितिलाई दिइएको जिम्मेवारीअनुसार प्रस्ताव तथा प्रतिवेदन बैठकमा पेस हुने र बैठकले एजेन्डा अनुमोदन गरेपछि सोही आधारमा बन्दसत्र सञ्चालन गरिने उनले बताए।बन्दसत्रमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन, महामन्त्रीले विधान संशोधनसम्बन्धी प्रतिवेदन तथा कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको छ। बन्दसत्रमा पार्टीका राजनीतिक तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ। बन्दसत्र सम्पन्न भएपछि महाधिवेशनको मुख्य कार्यभारका रूपमा रहेको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्नेछ।
यसैबीच, महाधिवेशन निर्वाचन समितिले आज साँझ ५ बजे महाधिवेशन प्रतिनिधिहरूको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ। मतदाता नामावली प्रकाशन भएपछि त्यसउपर दाबी–विरोध तथा छानबिनको प्रक्रिया अघि बढाइनेछ। प्राप्त दाबी–विरोधमाथि आवश्यक जाँचबुझ गरेपछि अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिहरूलाई निर्वाचनमा सहभागी गराउने गरी आवश्यक तयारीसमेत अघि बढाएको छ। कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय नेतृत्व चयन हुने भएकाले अबको प्रक्रिया नेतृत्व चयनतर्फ केन्द्रित हुने भएको छ।