कांग्रेस महाधिवेशन : केन्द्रीय समिति बैठक सुरु, बन्दसत्रपछि निर्वाचन प्रक्रिया अघि बढ्ने

कांग्रेस महाधिवेशन : केन्द्रीय समिति बैठक सुरु, बन्दसत्रपछि निर्वाचन प्रक्रिया अघि बढ्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि औपचारिक निर्वाचन प्रक्रिया सुरु हुनुअघि आइतबार काठमाडौंको खुलामञ्चमा केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ। महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएसँगै कांग्रेस अब बन्दसत्र हुँदै नयाँ नेतृत्व चयनको निर्वाचन प्रक्रियातर्फ अघि बढ्न लागेको हो।

आइतबार बिहान पौने ११ बजेदेखि सुरु भएको केन्द्रीय समिति बैठकले १५औँ महाधिवेशनको बन्दसत्रमा पेस गरिने विभिन्न प्रतिवेदन तथा प्रस्ताव पारित गर्नेछ। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार पार्टीका विभिन्न समितिलाई दिइएको जिम्मेवारीअनुसार प्रस्ताव पेस गरिने र बैठकले ती प्रस्तावलाई अनुमोदन गरेपछि बन्दसत्र सुरु हुनेछ।बन्दसत्रमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन, महामन्त्रीले विधान संशोधनसम्बन्धी प्रस्ताव तथा कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको छ। बन्दसत्रमा पार्टीका राजनीतिक, संगठनात्मक तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ।

बन्दसत्र सम्पन्न भएपछि महाधिवेशनको मुख्य कार्यभारका रूपमा रहेको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्नेछ। यसका लागि निर्वाचन समितिले आवश्यक तयारीसमेत तीव्र पारेको छ।निर्वाचन समितिले आइतबार साँझ ५ बजे महाधिवेशन प्रतिनिधिको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ। मतदाता नामावली सार्वजनिक भएपछि त्यसउपर दाबी–विरोध तथा आवश्यक छानबिनको प्रक्रिया अघि बढाइनेछ। प्राप्त दाबी–विरोधमाथि जाँचबुझ सम्पन्न गरेपछि अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा महाधिवेशन प्रतिनिधिलाई सहभागी गराउने गरी निर्वाचन समितिले आवश्यक व्यवस्थापन र तयारी अघि बढाइरहेको छ। यससँगै कांग्रेसको १५औँ महाधिवेशन अब बन्दसत्र हुँदै नयाँ केन्द्रीय नेतृत्व चयनको निर्णायक चरणमा प्रवेश गर्ने भएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार