बाँके । बाँकेमा धानमा फल लाग्ने तथा पाक्ने समयमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित भएका छन्। डुडुवा गाउँपालिका–५ का किसान अम्मर बुढाथोकीका अनुसार धानका पातमा साना खैरो–हरियो तथा पानीले भिजेजस्ता थोप्ला देखिने र सङ्क्रमण बढ्दै जाँदा धानका बोट सुक्ने समस्या देखिएको छ। यस वर्ष धानको उत्पादन बढ्ने आशा गरेका किसान पाक्ने बेलामा रोगको सङ्क्रमण देखिएपछि उत्पादन घट्ने चिन्तामा छन्। बुढाथोकीले रोगबारे वडा कार्यालय र गाउँपालिकाको कृषि शाखामा जानकारी गराए पनि रोकथामका लागि प्रभावकारी पहल नभएको गुनासो गरे। नेपालगञ्ज–१९ सुइयागाउँका किसान ललवा माहुतको धानखेतीमा पनि यस्तै समस्या देखिएको छ। फल लाग्ने समयमा परेको भारी वर्षा र हावाहुरीका कारण ढलेको धानमा अहिले रोगको सङ्क्रमण देखिएको उनले बताए। कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी तथा वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले जिल्लाका कतिपय धानखेतमा रोगको सङ्क्रमण भएको सूचना प्राप्त भए पनि क्षतिको यकिन विवरण आउन बाँकी रहेको बताइन्। उनका अनुसार पालिकास्तरबाट रोग सङ्क्रमणको अवस्था र क्षतिको विवरण सङ्कलन भइरहेको छ। बाँकेमा कुल ५४ हजार ५२६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३३ हजार ५७० हेक्टरमा धान खेती हुँदै आएको छ भने यस वर्ष ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ।