काठमाडौं । उद्योगीहरूले अत्यधिक सार्वजनिक बिदाका कारण व्यापार–व्यवसाय प्रभावित भएको बताएका छन्। सोमबार आयोजित उद्योग वाणिज्य आपूर्ति तथा उपभोक्ता समितिको बैठकमा उद्योगीहरूले दुई दिने साप्ताहिक बिदासँगै अन्य सार्वजनिक बिदाका कारण उद्योग तथा व्यवसाय सञ्चालनमा समस्या भएको गुनासो गरेका हुन्।
उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष हरि गौतमले दुई दिने साप्ताहिक बिदाबाहेक वर्षमा थप ४० दिन सार्वजनिक बिदा हुने र सोहीअनुसार बैंकसमेत बन्द हुँदा व्यवसाय सञ्चालनमा समस्या भएको बताए। ४० दिनको सार्वजनिक बिदालाई घटाएर १५ दिनमा सीमित गर्ने भनिए पनि त्यसको कार्यान्वयन हुन नसकेको उनको भनाइ छ।
गौतमले व्यापार–व्यवसायलाई सहज रूपमा सञ्चालन गर्न दुई दिने साप्ताहिक बिदाको व्यवस्थासमेत पुनरावलोकन गर्नुपर्ने बताए। बैठकमा सहभागी उद्योगीहरूले बैंकहरूलाई पनि श्रम ऐनअनुसार मात्रै बिदा दिने व्यवस्था गर्नुपर्ने माग गरेका छन्।