मकवानपुर । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी प्रदेश सभा निर्वाचनपछि बागमती प्रदेशमा आफ्नो पार्टीको सरकार बन्ने दाबी गरेका छन्। बागमतीमा सरकार गठनका लागि आधार तयार भइसकेको बताउँदै उनले उज्यालो नेपाल प्रदेशमा मात्रै सीमित नरही संघीय सरकारको नेतृत्व गर्ने उद्देश्यसहित अघि बढेको बताएका हुन्। मंगलबार हेटौँडामा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी घिसिङले सञ्चारकर्मीसँग कुराकानी गर्दै बागमती प्रदेशबाट सरकार गठनको सुरुवात गरेर संघीय सरकारको नेतृत्वसमेत उज्यालो नेपालले गर्ने दाबी गरे।
घिसिङले उज्यालो नेपालको उद्देश्य केवल सत्ता प्राप्ति नभई देशको आर्थिक रूपान्तरण, सुशासन कायम गर्नु र विभेदको अन्त्य गर्नु रहेको स्पष्ट पारे। उनले उज्यालो नेपाल कुनै जाति, धर्म वा समुदाय विशेषको पार्टी नभएको उल्लेख गर्दै आफू तामाङ समुदायमा जन्मिए पनि आफ्नो राजनीतिक दृष्टिकोण जातीय आधारमा नभई समग्र देशको विकास, सुशासन र आर्थिक रूपान्तरणमा केन्द्रित रहेको बताए। आर्थिक रूपान्तरणका लागि ‘हरित क्रान्ति’लाई मुख्य आधार बनाउनुपर्नेमा जोड दिँदै उनले पार्टी मध्यमार्गी राजनीतिक बाटोबाट अघि बढ्ने बताए।
घिसिङले वर्तमान सरकारले गठन भएको करिब ६ महिनाको अवधिमा जनतामा अपेक्षाअनुसार आशा जगाउने गरी काम गर्न नसकेको टिप्पणी गरे। जेन–जी आन्दोलनको मर्मअनुसार सरकारले जुन गतिमा काम गर्नुपर्ने थियो, त्यसअनुसार अघि बढ्न नसकेको उनको भनाइ थियो। यद्यपि सरकारलाई पूर्ण रूपमा असफल भइसकेको निष्कर्षमा पुग्ने अवस्था नरहेको उनले बताए। सरकारमा सहभागी युवा वर्गमा केही गर्ने इच्छाशक्ति र उत्साह भए पनि अनुभव, विज्ञता तथा आवश्यक क्षमताको कमी देखिएको उनको धारणा छ। यसैबीच, घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग भएको एकीकरण प्रयास १२ दिनमै टुट्नुमा रास्वपा नेतृत्व जिम्मेवार रहेको आरोप लगाएका छन्। रास्वपासँग एकीकरण गर्ने निर्णय नै उज्यालो नेपालका लागि गलत भएको निष्कर्षमा पुगेको बताउँदै उनले एकीकरण प्रक्रियामा अघि बढेपछि त्यसको पछाडि ठूलो षड्यन्त्र रहेको आफूहरूले बुझेको दाबी गरे। उज्यालो नेपालले ठूलो पद वा राजनीतिक भागबन्डाको माग गरेको भन्ने प्रचार गलत रहेको उल्लेख गर्दै सहमति गरेर पछि एकतर्फी रूपमा एकीकरण प्रक्रिया भङ्ग गर्नु राजनीतिक इमानदारीविपरीत भएको उनको भनाइ छ। अध्यक्ष घिसिङले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टीले देशव्यापी रूपमा संगठन विस्तार तथा राजनीतिक गतिविधिलाई तीव्र बनाइरहेको जानकारी दिए। स्थानीय तहदेखि प्रदेश र संघसम्म पार्टीको उपस्थिति बलियो बनाउँदै देशको नेतृत्व गर्ने लक्ष्यका साथ उज्यालो नेपाल अघि बढिरहेको उनले बताए।