काठमाडौँ। सार्क–जापान विशेष कोषअन्तर्गत ‘जेनेसिस २०२६’ कार्यक्रम सञ्चालनका लागि काठमाडौँस्थित जापानी दूतावास र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) बीच थप सम्झौता भएको छ। कार्यक्रमका लागि जापान सरकारले ३ करोड ४६ लाख ७ हजार जापानी येन आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। सम्झौता पत्रमा सार्कका महासचिव एमडी गोलाम सरवार र नेपालका लागि जापानी राजदूत माएदा तोरुले बुधबार हस्ताक्षर गरेका हुन्।
जापान सरकारको वित्तीय सहयोग तथा सार्क सचिवालयको सहकार्यमा सञ्चालन हुने जेनेसिस २०२६ लामो समयदेखि जारी जेनेसिस युवा आदानप्रदान कार्यक्रमको निरन्तरता हो। कार्यक्रमअन्तर्गत सन् २०२६ भित्र सार्क सदस्य राष्ट्रका करिब ४० जना युवालाई जापान लगेर विपद् व्यवस्थापन र जलवायु परिवर्तनसम्बन्धी विषयमा अध्ययन तथा अवलोकन गराइनेछ।
जापानबाट फर्किएपछि सहभागी युवाले त्यहाँ सिकेका उत्कृष्ट अभ्यासलाई आफ्ना देशमा जलवायु अनुकूलन तथा विपद् पूर्वतयारीका क्षेत्रमा प्रयोग गर्ने अपेक्षा गरिएको छ। जेनेसिस कार्यक्रमले सार्क राष्ट्रका युवालाई जापानको विकास मोडल, आर्थिक प्रगति, आधुनिक प्रविधि, समृद्ध सांस्कृतिक परम्परा तथा सामाजिक मूल्यमान्यताबारे प्रत्यक्ष अनुभव हासिल गर्ने अवसर प्रदान गर्दै आएको छ।