काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएम मेसिनबाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन दिएको छ। राष्ट्र बैंकको निर्देशनपछि केही बैंक तथा वित्तीय संस्थाले नयाँ प्रविधियुक्त एटीएममार्फत १०० रुपैयाँका नोट वितरण गर्न थालेका छन्।
राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएकाले यस वर्ष नयाँ नोटबारे अनावश्यक प्रचार नगरी चाडपर्वका लागि राष्ट्र बैंक, प्रादेशिक कार्यालय तथा वाणिज्य बैंकबाट सुकिला र सफा नोट उपलब्ध गराउने व्यवस्था गरिएको छ। उनका अनुसार असोज १ गतेदेखि नै थापाथलीस्थित राष्ट्र बैंक, प्रादेशिक कार्यालय र वाणिज्य बैंकबाट सुकिला तथा सफा नोट वितरण भइरहेको छ।
राष्ट्र बैंकले पछिल्ला ४–५ वर्षदेखि चाडपर्वमा नयाँ नोट बजारमा ल्याउने परिपाटीलाई क्रमशः न्यूनीकरण गर्दै आएको छ। प्रवक्ता पौडेलका अनुसार भदौ ३१ गतेसम्म नेपालमा करेन्सी इन सर्कुलेसन ७ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ। दसैँको समयमा उक्त रकम करिब ८ देखि १० प्रतिशतसम्म बढ्ने अनुमान राष्ट्र बैंकले गरेको छ।