अनुहार बदलेर होइन, युगलाई दिशा दिएर कांग्रेस अघि बढ्नुपर्छ : आङ्देम्बे

अनुहार बदलेर होइन, युगलाई दिशा दिएर कांग्रेस अघि बढ्नुपर्छ : आङ्देम्बे

काठमाडौँ । नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले पार्टीको अनुहार मात्र परिवर्तन गरेर जनताको चाहना र मुलुकको आवश्यकता पूरा गर्न नसकिने बताएका छन्। जारी महाधिवेशनको चौथो दिनको बन्द सत्रमा विभिन्न प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै उनले नेपाली कांग्रेसले अनुहार परिवर्तन मात्र गर्न लागेको हो कि नयाँ युगलाई दिशा निर्देश गर्न खोजेको हो भन्ने विषयमा इतिहासले मूल्यांकन गर्ने बताए। ‘अनुहार परिवर्तन होइन, युगलाई दिशा निर्देश गर्न हामी आइरहेका छौँ,’ उनले भने। आङ्देम्बेले कांग्रेस सरकार बनाउने पार्टी मात्र हो कि मुलुक बनाउने पार्टी हो भन्ने विषयमा गम्भीर बहस सुरु गर्नुपर्नेमा जोड दिए। सरकारमा पुग्ने उद्देश्य मात्र राखेर अघि बढ्दा कांग्रेसले आफ्नो मौलिक राजनीतिक पहिचान गुमाउने उनको भनाइ थियो। ‘सरकारमा पुग्न कहिले कम्युनिस्ट त कहिले राजसंस्थासँग साइनो गाँसिनेसँग जोडिएर हाम्रो पहिचान गुमायौँ,’ उनले भने, ‘अब त्यस्तो गर्नुहुँदैन।’ उनले नेतृत्व परिवर्तनसँगै कांग्रेसले स्पष्ट विचार, नीति र राष्ट्रिय दृष्टिकोणसहित मुलुक निर्माणको जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार