ट्रम्पले भने– नोबेल शान्ति पुरस्कारको वास्तविक हकदार म हुँ

ट्रम्पले भने– नोबेल शान्ति पुरस्कारको वास्तविक हकदार म हुँ

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार रहेको दाबी गरेका छन्। बुधबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले आठवटा युद्ध अन्त्य गर्न भूमिका खेलेको र सम्भावित विश्व विनाश रोक्न महत्वपूर्ण काम गरेको बताएका हुन्।

ट्रम्पले अहिलेसम्म कुनै पनि राष्ट्रपतिले आफूले जति युद्ध अन्त्य नगरेको दाबी गर्दै आफूले आठवटा युद्ध रोकेकाले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने बताएका छन्। सन् २०२६ को नोबेल शान्ति पुरस्कार नर्वेको नोबेल समितिले शुक्रबार घोषणा गर्दैछ। पुरस्कारबारे सोधिएको प्रश्नमा ट्रम्पले समितिको निर्णय आफूलाई थाहा नभएको बताए। उनले नोबेल समितिको छवि भने आफूजस्ता व्यक्तिलाई पुरस्कार नदिने खालको रहेको टिप्पणी गरे। पुनः सत्तामा आएदेखि नै ट्रम्पले आफू विश्वकै प्रतिष्ठितमध्ये एक नोबेल शान्ति पुरस्कारको वास्तविक हकदार भएको दाबी गर्दै आएका छन्। उनले आफूलाई पुरस्कार पाउने व्यक्तिमध्ये सबैभन्दा योग्य ठानिएको दाबीसमेत गरेका छन्।

ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सन् २०२५ की नोबेल शान्ति पुरस्कार विजेता तथा भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले आफूलाई जनवरीमा पुरस्कारको पदक दिएको प्रसंग पनि उल्लेख गरे। मचाडोले आफ्नो पदक ट्रम्पलाई दिएर सम्मान व्यक्त गरेको र त्यसबाट आफू सम्मानित महसुस गरेको ट्रम्पले बताएका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार