नागढुंगा सुरुङमा मोटरसाइकल प्रवेश, सुरक्षा व्यवस्थामाथि प्रश्न

नागढुंगा सुरुङमा मोटरसाइकल प्रवेश, सुरक्षा व्यवस्थामाथि प्रश्न

काठमाडौं । नागढुंगा सुरुङमार्गभित्र केही व्यक्ति मोटरसाइकल र स्कुटरसहित प्रवेश गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि सुरुङमार्गको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ। सुरुङमार्गजस्तो संवेदनशील क्षेत्रमा सुरक्षाकर्मीको निगरानी छल्दै दुईपाङ्ग्रे सवारीसाधन प्रवेश गरेको घटनाले सुरक्षा प्रणालीप्रति नागरिक तहबाट चिन्ता व्यक्त भएको हो।

सुरक्षाका कारण नागढुंगा सुरुङमार्गमा मोटरसाइकल तथा स्कुटर, पैदलयात्री, तीनपाङ्ग्रे सवारीसाधन र प्रज्वलनशील पदार्थ बोकेका सवारीसाधनलाई प्रवेश निषेध गरिएको छ। यति हुँदाहुँदै पनि नियम उल्लंघन गर्दै मोटरसाइकल सुरुङभित्र पुगेपछि घटनाको गहिरो छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग उठेको छ।

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका इन्जिनियर सञ्जय पन्थीका अनुसार घटना केही दिनअघि पानी परिरहेको समयमा भएको हो। उनका अनुसार पहिरोको जोखिम र वर्षाका कारण टोल बुथमा कर्मचारीको उपस्थिति कम भएको मौका छोपेर ती व्यक्तिहरूले सुरक्षा गार्डले रोक्दा–रोक्दै पनि जबर्जस्ती सुरुङभित्र प्रवेश गरेका थिए। इन्जिनियर पन्थीले घटनाका सम्बन्धमा कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्। साथै, सुरुङमार्गमा सुरक्षाकर्मीको उपस्थितिलाई थप चुस्त बनाउँदै आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नदिने आयोजनाले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार