जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियाका २५ वर्षीय महेश यादवको सर्पदंशबाट मृत्यु भएपछि मधेस प्रादेशिक अस्पतालको उपचार प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ। गत असोज १३ गते राति घरमै सुत्ने क्रममा करेत सर्पले दाहिने हातमा डसेपछि महेश आफैं स्कुटर चलाएर प्रादेशिक अस्पताल जनकपुर पुगेका थिए। परिवारका अनुसार अस्पतालमा उपचारमा ढिलाइ भएको र अवस्था गम्भीर भएपछि आईसीयू तथा भेन्टिलेटरको व्यवस्था नहुँदा उनलाई अन्य अस्पताल लैजान भनिएको थियो। त्यसपछि जनकपुरका विभिन्न अस्पताल हुँदै महोत्तरीको बर्दिबासस्थित सर्पदंश उपचार केन्द्र पुर्याइएका महेशलाई चिकित्सकले मृत घोषणा गरेका थिए। उपचारका क्रममा आवश्यक सेवा समयमै उपलब्ध नभएको परिवारको आरोप छ भने घटनाबारे सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ। घटनापछि अस्पतालका निर्देशक डा. जामुनप्रसाद सिंहलाई मन्त्रालयमा तानिएको छ। महेश परिवारका एक्ला छोरा तथा घरको मुख्य आर्थिक आधार थिए। उनको मृत्युपछि वृद्ध आमाबुवाको सहारा र परिवारको जीविकोपार्जनको आधारसमेत गुमेको छ। परिवारले घटनाको निष्पक्ष छानबिन गरी उपचारमा लापरबाही भएको पुष्टि भए दोषीमाथि कारबाही गर्न माग गरेको छ।