चीनबाट नेपालको व्यावहारिक लाभ सुनिश्चित गर्न पहल गर्ने राजदूतका प्रस्तावित उम्मेदवार शर्माको प्रतिबद्धता

चीनबाट नेपालको व्यावहारिक लाभ सुनिश्चित गर्न पहल गर्ने राजदूतका प्रस्तावित उम्मेदवार शर्माको प्रतिबद्धता

काठमाडौं । चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्माले राजदूत पदको जिम्मेवारी पाएमा चीनसँगको राजनीतिक विश्वास कायम राख्दै नेपाल र नेपाली नागरिकले व्यावहारिक लाभ लिन सक्ने वातावरण निर्माण गर्ने बताएका छन् । सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो धारणा राख्दै उनले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

शर्माले सार्वभौमिक समानता, पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व, आन्तरिक मामिलामा अहस्तक्षेप र नेपालको ‘एक चीन’ सिद्धान्तप्रतिको प्रतिबद्धतालाई द्विपक्षीय सम्बन्धका प्रमुख आधारका रूपमा उल्लेख गरे । उनले यसअघि भएका सम्झौताहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै नेपाली उत्पादन तथा पर्यटनको विकासका लागि चिनियाँ बजारमा पहुँच विस्तार गर्ने र नेपालमा उत्पादनशील लगानी भित्र्याउन सहजीकरण गर्ने बताए ।

त्यसैगरी, सीमा तथा पारवहन व्यवस्थालाई भरपर्दो बनाउने, विपद् उत्थानशीलतामा सहकार्य प्रवर्द्धन गर्ने र नेपाली नागरिकलाई प्रभावकारी कन्सुलर सेवा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राख्ने उनको भनाइ छ । पारवहन सम्झौताअन्तर्गत चीनका चार समुद्री बन्दरगाह र तीन स्थल बन्दरगाहसम्म नेपालको पहुँचका लागि प्राप्त मार्गहरू छिटो सञ्चालनमा ल्याउन पहल गर्ने योजना पनि उनले प्रस्तुत गरेका छन् । यसबाट नेपाललाई अन्तर्राष्ट्रिय व्यापारसँग थप सहज रूपमा जोड्न र चीनसँगको आर्थिक सहकार्यबाट देशले ठोस लाभ लिन सक्ने वातावरण निर्माण गर्न आफूले प्रयास गर्ने शर्माले बताएका छन् ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार