नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–०८, थकाली चोकमा अज्ञात वस्तु काट्ने क्रममा अचानक पड्किँदा दुई जना घाइते भएका छन्। सोमबार बिहान मध्यबिन्दु नगरपालिका–०३, ब्रह्मस्थान निवासी ४९ वर्षीय एकासी बोटेले कावासोती नगरपालिका–१७, अमलटारीघाटस्थित नारायणी नदीको किनारमा उक्त वस्तु फेला पारेका थिए। बाहिरी भागमा डोरीजस्तो वस्तुले बेरिएको, भित्री भाग फलामजस्तो देखिने तथा बेलनाकार आकारको उक्त वस्तु करिब दुई फिट लामो र १४ इन्च गोलाइको रहेको थियो। बोटेले उक्त वस्तु घरमा ल्याएपछि बिहान करिब ११:२० बजे भारतको मोतिहारी घर भई हाल कावासोती नगरपालिका–०८, थकाली चोकमा बस्दै आएका २८ वर्षीय सचिन कुमारसँग मिलेर हेक्सा ब्लेडले काट्ने क्रममा अचानक पड्किएको थियो। घटनामा दुवै जना घाइते भएका छन्।