काठमाडौं । संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत चिरन जङ्ग थापाले देशको प्रतिनिधित्व लगनशील, निर्भीक, निष्ठावान् र उत्कृष्ट कूटनीतिज्ञका रूपमा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सोमबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना तथा प्रतिबद्धता प्रस्तुत गर्दै उनले वासिङ्टन डीसीमा आयोजना हुने महत्त्वपूर्ण तथा सान्दर्भिक कार्यक्रममा नेपालको सहभागिता बढाई देशको उपस्थिति र पहिचानलाई थप मजबुत बनाउने लक्ष्य सुनाए। उनले परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा नयाँ कूटनीतिक जनशक्तिलाई अवसर दिने तथा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीलाई इन्टर्नसिपमा संलग्न गराउने योजना पनि प्रस्तुत गरे। त्यस्तै, वित्तीय सीमिततालाई सम्बोधन गर्न मितव्ययिता अपनाउने, वित्तीय पारदर्शिता कायम गर्ने र अमेरिकाका ५० वटै राज्यमा रहेका करिब दुई लाख ५० हजारभन्दा बढी नेपाली डायस्पोराको क्षमता, स्रोत तथा प्रभावलाई नेपालको हितमा अधिकतम उपयोग गर्ने बताए। सरकारले दिएको जिम्मेवारी निष्ठा र न्यायपूर्वक निर्वाह गर्दै संसदीय सुनुवाइ समितिले आफूलाई अनुमोदन गरेर पठाएकोमा गर्व गर्न सक्ने गरी कार्यसम्पादन गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।