सिन्धुली । काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस शुक्रबार दिउँसो सिन्धुलीको खुर्कोटमा दुर्घटना हुँदा कम्तीमा ९ जना घाइते भएका छन्। बीपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर अगाडि बाप्र ०३–००१ ख २७७४ नम्बरको बस सडकबाट करिब १० मिटर तल खसेको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठका अनुसार यात्रुहरूले होटलमा खाना खाएपछि बसलाई ब्याक गर्ने क्रममा पछाडिको चक्का नालामा परेपछि बस अनियन्त्रित भई सडकबाट तल खसेको थियो। दुर्घटनालगत्तै प्रहरी र स्थानीयवासीको टोलीले घाइतेहरूको उद्धार गरी ९ जनालाई उपचारका लागि खुर्कोटस्थित शुभजीवन अस्पताल र सुनकोशी सामुदायिक अस्पताल पठाएको छ। बसमा सवार कुल यात्रुको सङ्ख्या यकिन हुन नसकेको र घटनास्थलमा अन्य घाइतेहरूको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ।