काठमाडौँ । निर्वाचन आयोगले असोज ३० गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्णय गरेको छ। आयोगका अनुसार अन्तिम मतदाता नामावलीमा कुल १ करोड ९० लाख ९१ हजार ३७५ जना मतदाता कायम भएका छन्। जसमध्ये पुरुष ९७ लाख ६९ हजार ८२५, महिला ९३ लाख २१ हजार ३३६ र अन्य २१४ जना रहेका छन्। अघिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को अन्तिम मतदाता नामावलीको तुलनामा हालको नामावलीमा १ लाख ८७ हजार ६८६ जना मतदाता थपिएका छन्। आयोगले मतदाता नामावलीमा नयाँ नाम दर्ता, विवरण सच्याउने, ठेगाना स्थानान्तरण गर्ने तथा मृत्यु भएका र दोहोरो नाम भएका मतदाताको नाम हटाउनेलगायतका कार्य सम्पन्न गरी अन्तिम नामावली सार्वजनिक गरेको हो। प्रारम्भिक मतदाता नामावलीमा समावेश विवरणमाथि दाबीविरोध तथा जाँचबुझ गरी आवश्यक संशोधन गर्दा मृत्यु भएका, दोहोरो नाम भएका, नागरिकता त्यागेका वा रद्द भएका तथा अन्य कारणले कुल २ लाख ३ हजार ५८६ जनाको नाम हटाइएको आयोगले जनाएको छ। अन्तिम मतदाता नामावली तथा प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र र स्थानीय तहगत मतदाता सङ्ख्याको विवरण आयोगको आधिकारिक वेबसाइट www.election.gov.np मा उपलब्ध गराइएको छ।