• २०८३ कार्तिक १३ गते बिहिवार
  • Preeti To Unicode

चितवनमा सवारी चालक अनुमतिपत्रको परीक्षा ठप्प, दुई हजार सेवाग्राही मर्कामा

चितवनमा सवारी चालक अनुमतिपत्रको परीक्षा ठप्प, दुई हजार सेवाग्राही मर्कामा

चितवन । चितवनमा सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा बन्द हुँदा चितवनसहित आसपासका जिल्लाबाट सेवा लिन आउने सेवाग्राही मर्कामा परेका छन् ।

सर्वोच्च अदालतको आदेशपछि गत १० साउनदेखि परीक्षा रोकिँदा नयाँ तथा पुराना सेवाग्राही प्रभावित भएका हुन् । यातायात व्यवस्था कार्यालय भरतपुरका सूचना अधिकारी गोविन्द पौडेलका अनुसार निजी ट्रायल सेन्टरमा हुँदै आएको परीक्षा अदालतको आदेशपछि बन्द भएको हो ।

परीक्षा रोकिँदा पुनःसीप परीक्षा (रि–ट्रायल) दिनुपर्ने करिब ८०० जनाको परीक्षा प्रभावित भएको छ । यस्तै, साप्ताहिक रूपमा रि–ट्रायल दिने तथा नियमित परीक्षा दिने गरी करिब दुई हजार सेवाग्राही समस्यामा परेका छन् ।

पौडेलका अनुसार ट्रायल सेन्टर सञ्चालनका लागि गरिएको ठेक्का रद्द गरी पुनः ठेक्का प्रक्रिया अघि बढाउन अदालतले आदेश दिएपछि परीक्षा सञ्चालन हुन नसकेको हो । तर, मन्त्रालयबाट आवश्यक निर्देशन तथा परिपत्र नआएका कारण नयाँ बोलपत्र आह्वान गर्न नसकिएको उनले बताए ।

उनले भने, “मन्त्रालयबाट कुनै परिपत्र नआएका कारण सवारी चालक अनुमतिपत्रको काम गर्न सकिएको छैन ।”

हाल कार्यालयले सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन गर्न नसके पनि सवारी धनी प्रमाणपत्र, रुट परमिटलगायत अन्य सेवा प्रदान गरिरहेको छ ।

यसअघि ट्रायल सेन्टर सञ्चालनमा रहँदा एकपटकमा करिब ४०० जना नयाँ तथा पुराना सेवाग्राहीले सवारी चालक अनुमतिपत्रका लागि लिखित तथा सीप परीक्षा दिने गरेका थिए । परीक्षा अनिश्चित बनेपछि अनुमतिपत्र लिन प्रतीक्षारत सेवाग्राही थप समस्यामा परेका छन् ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार