24.1 C
Kathmandu
Saturday, April 20, 2024
spot_img

खोटाङमा २८ जनाको उम्मेदवारी

आगामी मङ्सिर ४ गते देशभर एकैसाथ हुने निर्वाचनमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि खोटाङमा २८ जनाको उम्मेदवारी दर्ता भएको छ । एउटा मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा प्रतिनिधिसभा सदस्यका लागि नौ तथा प्रदेशसभा (क)मा नौ र प्रदेशसभा (ख)मा छ जनाको उम्मेदवारी दर्ता भएको हो ।

सत्ता गठबन्धनमा आवद्ध तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच खोटाङमा चुनावी तालमेल भएको छ । प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका रामकुमार राई तथा प्रदेशसभा (क)मा एकीकृत समाजवादीका वीरबलकाजी राई र प्रदेशसभा (ख)मा कांग्रेसका भूपेन्द्रकुमार राईले चुनावी गठबन्धनबाट संयुक्तरूपमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

उम्मेदवारी दर्ता गराउन सत्ता गठबन्धनमा आवद्ध तीन राजनीतिक दलका साझा उम्मेदवार कार्यकर्ता तथा सांस्कृतिक झाँकीसहितको ¥याली लिएर आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । स्थानीय तहको निर्वाचनमासमेत चुनावी तालमेल गरेका तीन राजनीतिक दलका उम्मेदवार उत्साहित देखिएका थिए ।

यसैबीच तीन दलीय गठबन्धनका उम्मेदवारविरुद्ध कांग्रेसले नै बागी उम्मेदवारी दिएका छन् । गठबन्धनको टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै कांग्रेसका पूर्वराज्यमन्त्री सर्वधन राईले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा (क)मा सुवासकुमार पोखरेल र धर्मराज पोखरेलले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ।

नेकपा (एमाले)ले प्रतिनिधिसभा सदस्यका लागि विशाल भट्टराई तथा प्रदेशसभा (क)मा प्रदेश सदस्य पाँचकर्ण राई र प्रदेशसभा (ख)मा रामप्रसाद दङ्गालले उम्मेदवारी दर्ता गराउनुभएको छ । उम्मेदवारी दर्ता गराउन एमालेका उम्मेदवार कार्यकर्ता तथा सांस्कृतिक झाँकीसहितको ¥याली लिएर मुख्य निर्वाचनको अधिकृतको कार्यालय पुग्नुभएको थियो ।

जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट प्रतिनिधिसभाका लागि डा कृष्णकुमार राई तथा प्रदेशसभा (क)का लागि केन्द्रीय राकेश राई र प्रदेशसभा (ख)का लागि प्रदेश समिति सदस्य प्रेमकुमार राईले उम्मेदवारी दर्ता गराउनुभएको छ । केन्द्रमा एमालेसँग तालमेल गरेको जसपाले जिल्लामा एक्लै उम्मेदवारी दिएको हो ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा सदस्यका लागि मात्र उम्मेदवारी दिएको छ । राप्रपाले सर्जु श्रेष्ठलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको हो । प्रदेशसभा (क) र प्रदेशसभा (ख)का लागि उम्मेदवारको नामावली पठाइए पनि अन्तिममा प्रतिनिधिसभामा मात्र मनोनयन दर्ता गराइएको राप्रपाले जनाएको छ ।

नेपाल मजदुर किसान पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि भोजराज बस्नेत तथा प्रदेशसभा (क)मा केशव राई र प्रदेशसभा (ख)मा ध्यानप्रसाद ढकालले उम्मेदवारी दर्ता गराउनुभएको छ । मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि दीपक मगर तथा प्रदेशसभा (क)मा प्रयाग राई र प्रदेशसभा (ख)मा विमला राईले उम्मेदवारी दिनुभएको छ ।

आमूल परिवर्तन मसिहा पार्टी नेपालबाट प्रतिनिधिसभा सदस्यका लागि चन्द्रमणि राईले उम्मेदवारी दर्ता गराउनुभएको छ भने खम्बुवान राष्ट्रिय मोर्चाबाट सुवास राईले प्रदेशसभा (ख)मा उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत सुवासबाबु पुरीले जानकारी दिनुभयो । यस्तै प्रतिनिधिसभा सदस्यका लागि जयन्द्रकुमार राई र सर्वधन राई तथा प्रदेशसभा (ख)का लागि कुमारप्रसाद भट्टराईले स्वतन्त्रमा उम्मेदवारी दर्ता गराउनुभएको जनाइएको छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles