शैक्षिक हड्ताललाई समर्थन गर्न निजी विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रह


काठमाडौँ  – प्रस्तावित विद्यालय शिक्षा ऐन तत्काल कार्यान्वयन गर्न माग गर्दै जारी शैक्षिक हड्ताललाई थप प्रभावकारी बनाउन नेपाल शिक्षक महासंघले निजी विद्यालयहरूलाई समेत बन्द गर्न आग्रह गरेको छ।

महासंघले शनिबार एक विज्ञप्ति जारी गर्दै संस्थागत विद्यालयहरू (निजी विद्यालय) ले पनि हड्तालमा ऐक्यबद्धता जनाउँदै विद्यालय बन्द गर्न अनुरोध गरेको हो। विज्ञप्तिमा भनिएको छ, “शैक्षिक आम हड्ताल सफल बनाउन संस्थागत विद्यालयहरू समेत बन्द गरी साथ दिन सबै मित्रहरूमा अनुरोध गर्दछौं।”

यसै क्रममा, देशभरका शिक्षक तथा कर्मचारीहरूलाई आन्दोलनमा सहभागी हुन काठमाडौं उपस्थित हुन महासंघले आह्वान गरेको छ।

शिक्षकहरूले प्रस्तावित विद्यालय शिक्षा ऐनमा स्थायी नियुक्ति, सेवा सुरक्षण, सरुवा व्यवस्था, पेशागत सुरक्षा जस्ता विषयमा स्पष्ट व्यवस्था गरिनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका छन्। ऐन तत्काल कार्यान्वयन नगरेसम्म आन्दोलन नरोकिने महासंघले स्पष्ट पारेको छ।

हड्ताल अवधिभर निषेध गरिएका गतिविधिहरूमा विद्यालय सञ्चालन, प्रवेश परीक्षा, ग्रेड वृद्धि परीक्षा, उत्तरपुस्तिका परीक्षण, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण र कक्षा १२ को परीक्षा सञ्चालनसमेत रहेका छन्।

महासंघले देशभरका प्रधानाध्यापक, शिक्षक र विद्यालय कर्मचारीहरूलाई आन्दोलनका सबै निर्देशन कडाइका साथ पालना गर्न पनि अनुरोध गरेको छ।

यस आन्दोलनका कारण देशभरका लाखौं विद्यार्थीको पठनपाठन प्रभावित हुने देखिएको छ।

प्रकाशित मिति : २०८२ बैशाख ७ गते आइतवार