चितवनमा यतिबेला बजारमा केराको मूल्य अस्वाभाविक रूपमा बढेको भन्दै उपभोक्ताहरूले गुनासो गरिरहेका छन्। उपभोक्ताले एक दर्जन केराका लागि ३०० देखि ४०० रुपैयाँसम्म तिर्नुपरेको अवस्थामा किसानहरूले भने आफ्नो उत्पादन निकै सस्तोमा बेच्न बाध्य भएको बताएका छन्।
किसानहरूका अनुसार उनीहरूले उत्पादन लागत, श्रम र जोखिम सबै व्यहोरे पनि अन्तिम मूल्यको ठूलो हिस्सा बिचौलियाले लिइरहेका छन्। चितवन र झापाका किसानहरूले जिनाइन केरा प्रतिदर्जन करिब ५० रुपैयाँ, मालभोग ८० रुपैयाँ र चिनी चम्पा ५०–६० रुपैयाँमा बिक्री गरिरहेका छन्। तर यही केरा उपभोक्तासम्म पुग्दा प्रतिदर्जन २५० रुपैयाँभन्दा बढी नाफा थपिएको देखिन्छ।
चितवनका किसान यज्ञ सुवेदी, जसले झण्डै ५५ विगाहामा केरा खेती गर्दै आएका छन्, आफूहरूले केराको मूल्य नबढाएको बताउँछन्। उनी भन्छन्, “केरा लगाउने, मेहनत गर्ने, लगानी गर्ने सबै हामी हौं। तर बजारमा ठूलो नाफा अरूले खाइरहेका छन्। किसानले न त उचित मूल्य पाएका छन्, न उपभोक्ताले सस्तोमा केरा पाएका छन्।”
उनले बजारमा भएको मूल्यवृद्धिबारे सरकारले चासो दिनुपर्ने पनि बताए।
नेपाल केरा उत्पादक महासंघका अध्यक्ष विष्णुहरि पन्तका अनुसार अहिले केराको अभाव देखाएर मूल्य बढाइएको छ। “चैत, वैशाख र जेठमा केराको माग बढ्ने र उत्पादन पनि राम्रो हुने समय हो। विगतमा पनि यस समयमा मूल्य केही बढ्थ्यो, तर अहिले जस्तो कृत्रिम रूपमा मूल्य बढाइएको अवस्था गलत हो,” उनले भने।
झापाका किसान चन्द्रबहादुर बस्नेतले पनि आफूहरूले प्रति दर्जन ५० रुपैयाँमै केरा बेचिरहेको बताए। “हामीले ५० रुपैयाँमा बेचेको केरा उपभोक्ताले ३००–४०० रुपैयाँमा किनिरहेको सुन्दा अचम्म लाग्छ,” उनले भने।
किसान सुवेदीका अनुसार खेतबाट उठेको केरा उपभोक्तासम्म पुग्दा कम्तीमा दुई तहका बिचौलिया पार गर्छ। “हामीले कतिमा बेच्यौं र उपभोक्ताले कतिमा किने भन्ने स्पष्ट छ, बीचमा कसले कति लियो भन्ने कुरा बुझ्न गाह्रो छैन,” उनले भने।
भारतीय केरा आयात खुलाउने प्रयास?
भारतबाट टिआर–४ रोग भित्रिएपछि चितवनमा केराखेती संकटमा परेको थियो। पछि जैविक सुरक्षा अपनाएर भारतीय केरा आयातमा कडाइ गरिएपछि उत्पादन बढ्न थालेको किसानहरूको भनाइ छ।
महासंघका अध्यक्ष पन्तका अनुसार अहिले केरा खेती गर्ने किसानहरूको संख्या बढ्दै गएको छ। “हामी देशलाई केरामा आत्मनिर्भर बनाउन प्रयासरत छौं। तर बजारमा कृत्रिम अभाव देखाएर भारतीय केरा आयात खुलाउने प्रयास भइरहेको छ,” उनले आरोप लगाए।
नेपालमा वार्षिक करिब ९ लाख मेट्रिक टन केराको खपत हुने अनुमान छ। त्यसमध्ये ७ लाख मेट्रिक टन स्वदेशी उत्पादन र २ लाख मेट्रिक टन भारतीय केराले धान्ने गरेको छ।
यदि भारतीय केरा आयातमा कडाइलाई निरन्तरता दिइयो भने किसानहरू अझ व्यवसायिक रूपमा केरा खेतीतर्फ आकर्षित हुने पन्तको विश्वास छ।