काठमाडौंका चामलमा ११ थरी विषादी, बासमतीमा दोब्बर मात्रा

काठमाडौंका चामलमा ११ थरी विषादी, बासमतीमा दोब्बर मात्रा

काठमाडौँ — काठमाडौं उपत्यकामा खपत हुने चामलमा ११ प्रकारका विषादीको अवशेष भेटिएको अध्ययन सार्वजनिक भएको छ। परीक्षण गरिएका नमुनामा ढुसीनाशक, किटनाशक, मुसा मार्ने औषधि र केही प्रतिबन्धित रसायनसमेत फेला परेको उल्लेख गरिएको छ। भक्तपुर र ललितपुरको तुलनामा काठमाडौंका बजारमा पाइने चामलमा विषादीको मात्रा बढी देखिएको छ भने गैरबासमतीको तुलनामा बासमती चामलमा दोब्बर बढी विषादी पाइने तथ्यसमेत उजागर भएको छ।

काठमाडौंस्थित ‘प्रोग्रेसिभ सस्टेनेबल डिभेलपर्स नेपाल’ र भारतको ‘काउन्सिल अफ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च–इन्डियन इन्स्टिच्युट अफ टक्सिकोलोजी रिसर्च’ले संयुक्त रूपमा गरेको ‘नेपालको धानमा विषादीको प्रयोग र किसानको सुरक्षा व्यवहार : योजनाबद्ध व्यवहारको सिद्धान्त र सम्भावित स्वास्थ्य जोखिम’ शीर्षकको प्रतिवेदन हालै सार्वजनिक गरिएको हो। प्रतिवेदनअनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा खपत हुने चामलमा विषादीको मात्रा प्रतिकेजी ५.०९ माइक्रोग्रामदेखि ३१२.५४ माइक्रोग्रामसम्म भेटिएको छ। उक्त अध्ययन ‘स्प्रिन्जर नेचर’ अन्तर्गतको अन्तर्राष्ट्रिय जर्नल ‘वातावरण, विकास र दिगोपन’मा प्रकाशित भएको हो।

अध्ययनले बासमती चामलमा बढी विषादी हुनुको कारण यसको उच्च मूल्य र कम प्रतिरोधात्मक क्षमता भएको उल्लेख गरेको छ। अनुसन्धानकर्ता उत्कल सापकोटाका अनुसार किसानले बाली सुरक्षित गर्न र बढी उत्पादन लिन सिफारिसभन्दा बढी र पटक–पटक विषादी प्रयोग गर्ने प्रवृत्तिले चामलमा अवशेषको मात्रा बढाएको हो।

प्रतिवेदनले यस्तो चामलको दीर्घकालीन सेवनले मानव स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्ने चेतावनी दिएको छ। विषादी शरीरमा क्रमशः जम्मा हुँदै जाने र दीर्घकालमा पेट, प्रोस्टेट तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित क्यान्सरजस्ता रोगको जोखिम बढाउन सक्ने अध्ययनको निष्कर्ष छ।

अध्ययनमा सरकारले प्रतिबन्ध लगाएका क्लोरपाइरिफस, अल्फा–साइपरमेथ्रिन र प्रोफेनोफसजस्ता विषादीसमेत चामलमा फेला परेको उल्लेख छ। बजार अनुगमन कमजोर हुँदा यस्ता रसायनको प्रयोग रोक्न नसकिएको प्रतिवेदनले औंल्याएको छ।

यता प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत रोशन अधिकारीले भने धानमा प्रयोग गरिएका विषादीको अवशेष चामल उपभोक्तासम्म आइपुग्दा लामो समय टिक्न नपर्ने बताएका छन्। कटाइ, सुकाउने र मिलिङ प्रक्रियामा समय लाग्ने भएकाले धेरैजसो विषादी नष्ट हुने उनको भनाइ छ। यद्यपि उनले प्रतिवेदन अध्ययनपछि मात्र विस्तृत प्रतिक्रिया दिन सकिने बताएका छन्।

अध्ययनका लागि संकलित नमुनामध्ये ८३ प्रतिशत चामलमा विषादीको अवशेष भेटिएको छ भने तीमध्ये ८० प्रतिशतमा दुई वा सोभन्दा बढी प्रकारका विषादी रहेका छन्। ट्राइसाइक्लाजोल, थाइमिथक्जाम र टेबुकोनाजोलजस्ता विषादीको मात्रा युरोपेली युनियनले तोकेको अधिकतम सीमाभन्दा बढी रहेको अध्ययनले देखाएको छ।

प्रतिबन्धित विषादी बजारमा देखिनुको कारण ‘ग्रेस पिरियड’ हुन सक्ने अधिकारीको भनाइ छ। कुनै विषादी प्रतिबन्ध गर्दा तत्कालै प्रयोग बन्द नहुने र केही समयसम्म प्रयोग गर्न छुट दिइने भएकाले अनुसन्धानको समयमा ती रसायन अझै प्रयोगमा रहेको हुन सक्ने उनले बताएका छन्। वैज्ञानिक सापकोटाले पनि यसमा सहमति जनाएका छन्।

प्रकाशित मिति : २०८३ बैशाख ७ गते सोमवार