अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपालमा

अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपालमा

अमेरिकी सहायक विदेशमन्त्री एस. पाउल कपुर नेपाल आइपुगेका छन्। उनी आज बिहान काठमाडौँ पुगेका हुन्। बालेन्द्र (बालेन) शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछिको यो पहिलो उच्चस्तरीय अमेरिकी भ्रमण हो, जसलाई कूटनीतिक रूपमा महत्त्वपूर्ण रूपमा हेरिएको छ।

कपुरले आज परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट गर्ने कार्यक्रम रहेको बताइएको छ। यसबाहेकका अन्य भेटघाटबारे भने औपचारिक रूपमा केही खुलाइएको छैन। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन शाहसँगको सम्भावित उच्चस्तरीय भेटघाटबारे हालसम्म कुनै निश्चित निर्णय नभएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पनिकट मानिने कपुरले दक्षिण तथा मध्य एसियाका मामिला हेर्ने जिम्मेवारी सम्हाल्दै आएका छन्। ट्रम्प प्रशासनले तत्कालीन सहायक विदेशमन्त्री डोनाल्ड लुलाई पदमुक्त गरी २०८१ फागुनमा कपुरलाई उक्त पदमा नियुक्त गरेको थियो। नियुक्तिपछि उनी भारतीय मूलका भएको विषयले पनि चर्चा पाएको थियो। उनको जन्म भारतमा भएको हो; उनका बुबा भारतीय र आमा अमेरिकी मूलकी हुन्।

हालको सरकार गठनमा अमेरिकाको प्रभाव रहेको भन्ने विभिन्न टिप्पणीहरू भइरहेका बेला कपुरको यो भ्रमणलाई अझ अर्थपूर्ण रूपमा व्याख्या गरिएको छ। यसअघि उनी अमेरिकाको राष्ट्रिय सुरक्षा सम्बन्धी क्षेत्रमा प्राध्यापकका रूपमा कार्यरत थिए। साथै, ट्रम्पको अघिल्लो कार्यकालको अन्तिम वर्ष सन् २०२०–२१ मा विदेश विभागको नीति योजना टोलीमा रही दक्षिण एसियाली मामिलामा काम गरेका थिए।

अमेरिकी नावल पोस्ट ग्राजुएट स्कुलमा प्राध्यापकका रूपमा पनि अनुभव बटुलेका कपुरलाई पाकिस्तानप्रति कडा धारणा राख्ने विश्लेषकका रूपमा चिनिन्थ्यो। तर पछिल्लो समय इरान र अमेरिका बीचको वार्तामा पाकिस्तानले खेलेको मध्यस्थकारी भूमिकामा कपुरको संलग्नता रहेको चर्चा पनि हुने गरेको छ।

विदेश विभागमा कार्यरत रहँदादेखि नै उनी दक्षिण एसियाली सुरक्षा, आणविक रणनीति तथा अन्तर्राष्ट्रिय सम्बन्धका विशेषज्ञका रूपमा परिचित छन्। विशेषगरी भारत–पाकिस्तान सम्बन्ध, आतङ्कवाद तथा क्षेत्रीय सुरक्षाका विषयमा उनका अध्ययन केन्द्रित रहेका छन्।

दक्षिण तथा मध्य एसियामा बढ्दो भूराजनीतिक प्रतिस्पर्धाका बीच नेपालको परराष्ट्र नीति पुनः चर्चामा आएको छ। यस्तो सन्दर्भमा बालेन नेतृत्वको सरकारले कूटनीतिक क्षेत्रमा चालिरहेका कदमहरूले पनि व्यापक ध्यान आकर्षित गरिरहेका छन्।

प्रकाशित मिति : २०८३ बैशाख ७ गते सोमवार