बुटवल । गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका विभिन्न कारागार तथा बाल सुधार गृहबाट फरार भएका कैदीबन्दीमध्ये अधिकांश पुनः फर्किसकेका छन् भने अझै पाँच सयभन्दा बढी बेपत्ता रहेका छन्। विभिन्न मुद्दामा कैद सजाय काटिरहेका ती कैदीहरू फरार हुँदा समाजमा पुनः आपराधिक गतिविधि बढ्न सक्ने भन्दै जानकारहरूले चिन्ता व्यक्त गरेका छन्।
लुम्बिनी प्रदेशका नवलपरासी, कपिलवस्तु, तुलसीपुर र बाँकेका कारागार तथा बाल सुधार गृहबाट गरी कुल १ हजार ५६९ जना कैदीबन्दी फरार भएका थिए। तीमध्ये १ हजार २८ जना पुनः सम्पर्कमा आएका छन् भने अझै ५४१ जना फरार रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका सूचना अधिकारी एसएसपी शारदा प्रसाद चौधरीले जानकारी दिएका छन्।
प्रदेशका ६ वटा कारागार तथा सुधार गृहबाट १ हजार ४९४ पुरुष तथा बालक र ७५ महिला कैदीबन्दी फरार भएका थिए। हालसम्म ३० महिला र ५११ पुरुष तथा बालक पक्राउ पर्न बाँकी रहेको प्रहरीले जनाएको छ।
फरार भएकामध्ये धेरैजसो कैदीबन्दी आफैँ कारागारमा फर्किएका छन्। प्राप्त तथ्याङ्कअनुसार ५९९ जना आफैँ उपस्थित भएका छन् भने ३९५ जनालाई सुरक्षाकर्मीले पक्राउ गरेर ल्याएका छन्। यसैगरी ३३ जना अन्य कारागारमा पुगेका छन् भने एक जनाको मृत्यु भएको छ।
कारागारअनुसार हेर्दा नवलपरासी कारागारबाट सबैभन्दा धेरै ५४६ जना कैदीबन्दी फरार भएका थिए। तीमध्ये ४७१ पुरुष र ७५ महिला थिए। हालसम्म ३६८ जना फर्किसकेका छन् भने १७८ जना अझै फरार रहेका छन्। साथै, ८८ जनालाई सुरक्षाकर्मीले पक्राउ गरी पुनः कारागारमा ल्याएको प्रहरीले जनाएको छ।