काठमाडौँमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले एकै दिन ५१ वटा व्यावसायिक फर्म, उद्योग तथा प्रतिष्ठानमा बजार अनुगमन गरेको छ। विभागले पछिल्ला दिनहरूमा बजार अनुगमनलाई तीव्रता दिँदै उपभोक्ता अधिकार संरक्षण र बजार अनुशासन कायम गर्ने उद्देश्यले नियमित रूपमा यस्ता निरीक्षण गर्दै आएको जनाएको छ।
अनुगमनका क्रममा बिलबिजक जारी भए/नभएको, अखाद्य वस्तु बिक्री वितरण भइरहेको/नभएको, कालोबजारी भएको/नभएको तथा अधिकतम खुद्रा मूल्य (MRP) पालना भए/नभएको विषयमा विशेष ध्यान दिइएको थियो। अधिकांश फर्महरूमा सामान्य अनियमितता देखिएपछि विभागले सुधारात्मक निर्देशन दिएको छ।
अनुगमनमा स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सम्बन्धित सरोकारवालाको पनि सहभागिता रहेको थियो। विभागले कानुन कार्यान्वयनलाई थप प्रभावकारी बनाउँदै उपभोक्ताको हित संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।