बाढीपहिरोको कारक बनेका अवैध क्रसर

बाढीपहिरोको कारक बनेका अवैध क्रसर

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले गत वर्षको बाढीपहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी क्षेत्र र पनौतीको अनुगमन गर्दै मापदण्डविपरीत सञ्चालन भइरहेका क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिएका छन्।

अनुगमनका क्रममा उनले अवैध तथा अनियन्त्रित गिटी–बालुवा उत्खननका कारण बाढीपहिरोको जोखिम बढेको उल्लेख गर्दै यस्ता गतिविधिमाथि कडा छानबिन गरिने बताएका छन्। विगतमा ठेक्कापट्टामा अनियमितता गरी अवैध गतिविधि सञ्चालन भएको भन्दै उनले अब सबै कामको वैध–अवैध पक्ष गहिरो रूपमा अनुसन्धान गरिने स्पष्ट पारे।

उनले प्राकृतिक स्रोतको दोहन र कमजोर नियमनका कारण जनधनको ठूलो क्षति भएको भन्दै असन्तुष्टि व्यक्त गरे। गत वर्ष पनौती क्षेत्रमा आएको बाढीपहिरोमा २० जनाको मृत्यु र एक जना बेपत्ता भएका थिए भने सयौं घर क्षतिग्रस्त भएका थिए।२०८१ असोज १० देखि १२ गतेसम्म खोपासी क्षेत्रमा परेको अत्यधिक वर्षाले २४ घण्टामा ३३१.६ मिलिमिटर वर्षा मापन गरिएको थियो, जसले नयाँ रेकर्ड कायम गरेको थियो। उक्त वर्षापछि रोशी नदी आसपासका क्षेत्र, विशेषगरी भूमिडाँडादेखि नेपालथोकसम्म, ठूलो क्षति पुगेको थियो।

स्थानीयवासी र अध्ययनहरूले रोशी नदी आसपासका अवैध खानी तथा क्रसर उद्योग, नदी किनारमा ढुंगा–गिटी थुपार्ने कार्य र मापदण्डविपरीत उत्खननले नदीको प्राकृतिक बहाव अवरुद्ध भई बाढीको असर थप गम्भीर बनेको निष्कर्ष निकालेका छन्।गृहमन्त्रीले भविष्यमा सम्भावित विपद् रोकथामका लागि आवश्यक पूर्वतयारी गर्न र सुरक्षा निकायलाई उच्च सतर्कतामा रहन निर्देशन दिएका छन्।

प्रकाशित मिति : २०८२ चैत्र २७ गते शुक्रवार