सिन्धुली र सुनसरीमा प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। नियमित गस्तीका क्रममा सिन्धुलीको दुधौली नगरपालिका–१० सिर्जनानगरबाट ६ किलोग्राम गाँजासहित उदयपुरको कटारी नगरपालिका–८ आहालेका ३७ वर्षीय टेकबहादुर मगरलाई पक्राउ गरिएको हो। त्यस्तै, सुनसरीको हरिनगरा गाउँपालिका–२ भुटाहा बजारबाट चिकित्सकको सिफारिसमा मात्र बिक्री गर्न पाइने ट्रामाडोल ५ हजार ट्याब्लेटसहित सोही गाउँपालिका–६ का २१ वर्षीय अबजल अन्सारी पक्राउ परेका छन्। पक्राउ परेकालाई बिहीबार नियन्त्रणमा लिएर कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।