काठमाडौँ महानगरपालिकाले इन्धनको बढ्दो संकट र खर्च कटौतीलाई ध्यानमा राख्दै आफ्ना अधिकारीहरूका लागि ‘कार पुलिङ’ (सवारी साधन साझेदारी) प्रणाली कार्यान्वयनमा ल्याएको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार इन्धन अभावबाट उत्पन्न हुन सक्ने दीर्घकालीन नकारात्मक प्रभावलाई न्यूनीकरण गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो।
विश्वव्यापी रूपमा देखिएको इन्धन संकटलाई मध्यनजर गर्दै महानगरले अधिकारीहरूलाई उपलब्ध गराइएका सवारी साधनहरू अबदेखि आलोपालो प्रणालीमा सञ्चालन गर्ने व्यवस्था मिलाएको छ। यस सम्बन्धमा कार्यवाहक प्रमुख डंगोलले भनिन्, “विश्वभर इन्धनको अभाव छ। यस अवस्थामा पहिलेकै रूपमा सवारी साधन सञ्चालन गर्दा अत्यावश्यक कामका लागि समेत इन्धन अभाव हुन सक्छ। यस्तो समस्या आउन नदिन इन्धनको प्रयोग घटाउनु अपरिहार्य भएकोले हामीले ‘कार पुलिङ’ कार्यक्रम सुरु गरेका हौँ।”
महानगरपालिकाले यसअघि नै ४८ औँ कार्यपालिका बैठकबाट इन्धन कोटामा कटौती गर्ने निर्णय गरिसकेको छ। सोही निर्णयलाई थप प्रभावकारी बनाउन ‘कार पुलिङ’ को अवधारणा लागू गरिएको हो।
महानगरका अनुसार यस कार्यक्रमअन्तर्गत कर्मचारी तथा अधिकारीहरूलाई उनीहरूको बसोबास क्षेत्रका आधारमा समूहमा विभाजन गरिएको छ। एउटै रुट वा क्षेत्रबाट कार्यालय आउने–जाने अधिकारीहरूले अब एउटै सवारी साधन प्रयोग गर्नुपर्नेछ। समूहमा रहेका सदस्यहरूले आफ्ना सवारी साधनहरू आलोपालो प्रयोग गर्नेछन् र सोही सवारीमार्फत अन्य सहकर्मीहरूलाई कार्यालयसम्म ल्याउने र पुर्याउने व्यवस्था गरिनेछ।
यो प्रणाली लागू भएसँगै कार्यालय प्रयोजनका लागि सडकमा गुड्ने सवारी साधनको संख्या घट्ने र इन्धनको उल्लेखनीय बचत हुने महानगरपालिकाले विश्वास लिएको छ।