रसुवा । भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परी घाइते भएका ५८ जनालाई उद्धार गरी काठमाडौं ल्याइएकामा राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत ५० जनामध्ये ३८ जना उपचारपछि डिस्चार्ज भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार हाल राष्ट्रिय ट्रमा सेन्टरमा १२ जना घाइतेको उपचार भइरहेको छ । अस्पताल प्रशासनका अनुसार उपचाररत अधिकांश घाइतेको स्वास्थ्य अवस्था सामान्य रहेको छ र उनीहरूलाई साधारण शय्यामा राखेर उपचार भइरहेको छ । बाढीमा परी घाइते तथा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई आवश्यक सूचना उपलब्ध गराउन नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा नागरिक सहायता कक्ष स्थापना गरेको छ । सहायता कक्षमार्फत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिन तथा सम्पर्कविहीन आफन्तको विवरण टिपाउन आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ । भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य अझै जारी रहेको छ भने घाइतेको उपचार, सम्पर्कविहीन व्यक्तिको खोजी तथा प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राखिएको छ।