• २०८३ भाद्र २३ गते मङ्गलवार
  • Preeti To Unicode

एक फोनले जोगायो ३० परिवारको ज्यान, भोटेकोशी बाढीले उजाड्यो भैँसे

एक फोनले जोगायो ३० परिवारको ज्यान, भोटेकोशी बाढीले उजाड्यो भैँसे

नुवाकोट । भोटेकोशीमा आएको भीषण बाढीले नुवाकोटको विदुर नगरपालिका–१० भैँसेमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। तर बाढीको भयावह दृश्य समयमै देखेका वीरबहादुर गुरुङले गरेको एउटा फोनले भने आफ्नो परिवारसहित टोलका करिब ३० परिवारलाई सुरक्षित स्थानतर्फ जान समय मिल्यो। सम्पत्ति गुमे पनि परिवार र छरछिमेकका मानिसको ज्यान जोगाउन सकेकामा वीरबहादुर खुसी छन्।वीरबहादुर माइक्रोबस लिएर १० जना यात्रुलाई गोसाइँकुण्ड पुर्‍याउन बिहानै धुञ्चे पुगेका थिए। यात्रु झारेर सडक छेउको चिया पसलमा बसेका बेला एक्कासी ठूलो आवाज सुनियो। बाहिर निस्किएर स्याँफ्रुबेँसीतर्फ हेर्दा उनले जीवनमै नदेखेको भयानक दृश्य देखे। भोटेकोशीको बाढी आकाश नै छुन लागेजस्तो देखिन्थ्यो। बाढीको गड्गडाहटले रसुवा सदरमुकाम धुञ्चेसमेत थर्कमान बनेको थियो।बाढीको भयावह दृश्य देखेपछि वीरबहादुरले तत्काल नुवाकोटको भैँसेस्थित घरमा रहेकी श्रीमती गङ्गालाई फोन गरे। उनको फोन नउठेपछि उनले नौ कक्षामा पढ्दै गरेकी छोरी एविकालाई फोन गरे। छोरीले फोन उठाएपछि वीरबहादुरले धुञ्चेबाट देखिरहेको बाढीको अवस्था सुनाउँदै परिवारलाई तत्काल सुरक्षित स्थानमा जान भने। केही समयपछि श्रीमती गङ्गा र दाजु रमेशले पनि फोन उठाए।

गङ्गा त्यतिबेला खेतमा थिइन्। उनी घर पुग्दा रमेशले ७१ वर्षीया साइली र दुई वर्षका बालकलाई घरमाथिको पाखामा सुरक्षित स्थानमा पुर्‍याइसकेका थिए। वीरबहादुरको सूचनापछि रमेशले आफ्नो परिवार मात्र होइन, आसपासका मानिसलाई समेत बाढीबाट जोगिन सुरक्षित स्थानतर्फ जान आग्रह गरे।रमेशका अनुसार वीरबहादुरले धुञ्चेबाट फोन गरेपछि बाढी भैँसे पुग्न करिब आधा घण्टा लागेको थियो। त्यो समय मानिसका लागि ज्यान जोगाउन पर्याप्त थियो। तर बाढीको सूचना कतिपयले सुरुमा विश्वास नगर्दा उनीहरू जोखिममा परे। “सबैलाई बाढी आयो भन्दै भाग्न भनेँ, तर धेरैले विश्वास गरेनन्,” रमेशले बताए।बाढीबाट मानिसहरू जोगिए पनि भैँसेमा रहेका घर तथा व्यवसाय भने जोगिन सकेनन्। रमेशले करिब एक करोड रुपैयाँ लगानी गरेर बनाएको घरमै खानाखाजाको पसल सञ्चालन गर्दै आएका थिए। व्यापारको मुख्य याम भएकाले दैनिक २०–२५ हजार रुपैयाँसम्म कारोबार हुने गरेको थियो। तर बाढीले घर, पसल र वर्षभरि परिवार पाल्ने आम्दानीको स्रोत नै बगाइदियो। घर बनाउँदा लिएको करिब ४० लाख रुपैयाँ ऋणसमेत बाँकी थियो।वीरबहादुरकी श्रीमती गङ्गाले पनि केही वर्षअघि लाखौँ रुपैयाँ खर्च गरेर बनाएको पक्की घर गुमाइन्। बाढीबाट करिब १० तोला सुन र १४ लाख रुपैयाँ नगदसमेत जोगाउन नसकेको उनले बताइन्। तर उनले सम्पत्तिभन्दा परिवारको ज्यानलाई प्राथमिकता दिइन्। “गहना र पैसा लिएरै भाग्न खोजेको भए परिवारै बग्थ्यो,” उनले भनिन्, “मैले त्यसलाई आफ्नो ज्यान र छोराछोरीभन्दा प्यारो ठानिनँ, त्यसैले आज नयाँ जीवन पाएँ।”बाढीले भौतिक सम्पत्तिमात्र होइन, परिवारका सदस्यसमेत खोसेको छ। वीरबहादुर र रमेशको परिवारकी सदस्य तेराना तामाङलाई बाढीले बगाएको छ। उनी त्रिशूली अस्पतालमा नर्सका रूपमा कार्यरत थिइन्। अघिल्लो राति शोलेस्थित घर पुगेकी उनी अर्को बिहान अस्पताल जानै नपाई बाढीमा परिन्।

परिवारका सदस्य गुमाएपछि अहिले दुवै परिवार शोकमा छन्।बाढीबाट विस्थापित भएका करिब १५० जनालाई नजिकैको सुरक्षित स्थानमा रहेको होल्डिङ सेन्टरमा राखिएको छ। रमेशसहित केही परिवार भने भैँसेमाथिको गैरीखर्कमा आफन्तको आश्रयमा बसिरहेका छन्। राहत सामग्रीको कमी नभए पनि लामो समयसम्म अस्थायी शिविरमा बस्न कठिन हुने भएकाले सरकारले सुरक्षित र स्थायी बसोबासको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ। विशेषगरी बालबालिकाको पढाइ प्रभावित भएको र परिवारका सदस्य गुमाएका तथा विस्थापित व्यक्तिलाई मनोपरामर्शको आवश्यकता रहेको उनीहरूले बताएका छन्।विदुर नगरपालिका–१० का वडाध्यक्ष गणेशकुमार नेपालका अनुसार बाढीबाट वडाका २५६ परिवारका करिब एक हजार २०० जना प्रभावित भएका छन्। बाढीमा परेर २३९ जना बेपत्ता भएको प्रारम्भिक जानकारी छ। उत्तरगया बोर्डिङ स्कुलका अनुमानित २०० विद्यार्थीसमेत बेपत्ता भएको बताइएको छ। यद्यपि बेपत्ताको यकिन विवरण सङ्कलन गर्ने काम भइरहेको छ।नगरपालिकाले बाढीबाट विस्थापित प्रत्येक परिवारलाई तत्कालका लागि १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। विभिन्न संघसंस्था तथा अन्य निकायले पनि राहत तथा आर्थिक सहयोग गरिरहेका छन्। तर बाढीबाट प्रभावित परिवारका लागि तत्काल राहतसँगै सुरक्षित पुनःस्थापना, बालबालिकाको शिक्षाको निरन्तरता र मनोसामाजिक सहयोग आवश्यक देखिएको छ।वीरबहादुरका लागि भने त्यो दिन जीवनभर सम्झनामा रहनेछ। उनले समयमा बाढीको खतरा थाहा पाएर परिवारलाई खबर गर्न पाउनु आफ्नो भाग्य भएको बताएका छन्। “सम्पत्ति त फेरि पनि जोड्न सकिएला, जीवन त कहाँ पाउनु?” उनले भने। भोटेकोशीको बाढीले भैँसेको बस्ती उजाडे पनि एउटा फोनले धेरै परिवारलाई नयाँ जीवन दिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार