गण्डकी प्रदेशको पर्वतस्थित कुश्मामा तीज पर्वसँगै यस वर्षको भदौरे जात्रा तथा लाखे नाचको रौनक पनि सकिएको छ। नेवार समुदायको मौलिक सांस्कृतिक परम्पराका रूपमा रहेको भदौरे जात्रामा लाखे, बास्सा, रोपाइँ, होवा, जोगी, कटुवाल, घोडालगायत विभिन्न नाच तथा झाँकी प्रदर्शन गरिन्छ। जनैपूर्णिमाको भोलिपल्टदेखि भदौरे जात्राको रौनक सुरु हुने भए पनि लाखे नाच भने गठेमङ्गल पर्वदेखि नै नचाउने चलन रहेको छ। कुश्मामा साउन कृष्ण औँसीदेखि तीजसम्म लाखे नाच देखाउने परम्परा रहेको स्थानीयवासी बताउँछन्। यस अवधिमा रोपाइँ जात्रा, गाईजात्रा, बाघ जात्रा र हनुमान नाचसमेत प्रदर्शन गरिन्छ। लाखे नाचमा नेवार समुदायका कलाकारको मुख्य भूमिका रहे पनि यसको तयारी तथा व्यवस्थापनमा अन्य समुदायको समेत सहभागिता हुँदै आएको छ। संस्कृतिकर्मीहरूका अनुसार भदौरे जात्रामा लाखे नाचसँगै गाईजात्रा, नागा नाच, रोपाइँ जात्रा, बाघ जात्रा, कृष्ण जात्रा, हनुमान नाच र बकुल्ला नाचजस्ता परम्परा जोडिएका छन्। तर संरक्षणको अभावमा बकुल्ला नाच र हनुमान नाच लोप हुने अवस्थामा पुगेका छन्। किंवदन्तीअनुसार घण्टाकर्ण नामक राक्षसको अन्त्यपछि त्यससँग सम्बन्धित कथालाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्ने क्रममा लाखे नाचको परम्परा सुरु भएको मानिन्छ। राक्षसको स्वरूप झल्कने मुकुट र विशेष पोसाक लगाएर नचाइने लाखे नाचमा हिँडाउने, पड्ताल, भोटेसेलो र झ्यारी गरी चार ताल प्रयोग गरिन्छ। सयौँ वर्षदेखि पुस्तान्तरण हुँदै आएको यो परम्परा गीत, नृत्य र अभिनयमार्फत पौराणिक कथा, सामाजिक जीवन, व्यङ्ग्य, भाइचारा, मेलमिलाप र मनोरञ्जनसमेत प्रस्तुत गर्ने माध्यमका रूपमा विकसित भएको छ। पछिल्लो समय नयाँ पुस्तामा परम्परागत संस्कृतिप्रतिको आकर्षण घट्दै जाँदा यस्ता मौलिक नाच तथा जात्रा संरक्षणमा चुनौती थपिएको छ। संस्कृतिकर्मी तथा संरक्षणकर्मीहरूले लाखे नाचलाई अमूर्त सांस्कृतिक सम्पदाका रूपमा संरक्षण गर्न समुदायको सक्रियतासँगै स्थानीय तह र राज्यले पनि नीतिगत तथा दीर्घकालीन सहयोग गर्नुपर्नेमा जोड दिएका छन्।