मनाङ को नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल क्षेत्रमा गएको भीषण हिमपहिरोमा परी १५ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता रहेका छन्। गत असोज २ गते काठमाडौँबाट हिमाली पदयात्रा तथा आरोहण व्यवस्थापनका लागि हिमालय होलिडे कम्पनीका २१ जना र इमेजिङ नेपाल कम्पनीका ६ जना गरी २७ जनाको नेपाली टोली हिम्लुङ क्षेत्रमा बेस क्याम्प स्थापना गर्न गएको थियो। असोज ११ गते राति करिब १२:४५ बजे अचानक हिमपहिरो खसेपछि उनीहरू पुरिएका थिए। हिमपहिरोमा परेका २७ जनामध्ये ११ जनाको सकुशल उद्धार गरिएको थियो भने १६ जना सम्पर्कविहीन भएका थिए। घटनालगत्तै सुरु गरिएको खोज तथा उद्धारका क्रममा हालसम्म १५ जनाको शव फेला परेको छ। मृतकहरूमा सङ्खुवासभाका छेवि भोटे र पासाङ भोटे, गोरखाका विरेन्द्र गुरुङ र आश गुरुङ, खोटाङका घनश्याम राई, लक कुमार गुरुङ र सुरज राई, रुकुम पूर्वका कलम बुढा, काभ्रेपलाञ्चोकका बिर्ख ध्वज तामाङ र जगत तामाङ, सिन्धुपाल्चोकका उर्ख ध्वज बोहोरा, ओखलढुङ्गाका प्रेम तामाङ, दोलखाका कृति बहादुर तामाङ तथा वतन र उमेर नखुलेका ङिमा दोर्जे तामाङ र सन्तवीर तामाङ रहेका छन्। हिमपहिरोमा परी बेपत्ता भएका ओखलढुङ्गाका ३८ वर्षीय पासाङ नुरी शेर्पाको भने हालसम्म कुनै पत्तो लाग्न सकेको छैन। उनको खोजी तथा उद्धार कार्य तीव्र रूपमा जारी रहेको उद्धार टोलीले जनाएको छ।