रूपन्देही । बुद्ध जन्मभूमि लुम्बिनी र बुद्धत्व प्राप्त गरेको स्थानसँग सम्बन्धित ‘बौद्ध सर्किट’को अवधारणा, यसको कार्यान्वयन तथा सम्भावित लाभबारे अध्ययन, अनुसन्धान र विश्लेषणसहित प्रतिवेदन तयारी प्रक्रिया अघि बढेको छ। लुम्बिनी बौद्ध विश्वविद्यालय, छायाँ नेपाल र इन्टिग्रेटेड सोसल डेभलपमेन्ट सेन्टर (आईएसडिसी)बीच त्रिपक्षीय रणनीतिक साझेदारी सम्झौता भएपछि विस्तृत प्रतिवेदन तयारी प्रक्रिया अघि बढाइएको हो। अध्ययन प्रतिवेदन दिगो पर्यटन विकास तथा सीमापार सम्पर्कका लागि आवश्यक नीतिगत सुझाव र कार्यढाँचा तयार गर्न केन्द्रित हुने बताइएको छ। तीनवटै संस्थाको संयुक्त सहभागितामा स्थलगत अध्ययन, तथ्याङ्क सङ्कलन तथा विश्लेषण, सरोकारवालासँग परामर्श र अनुसन्धान गरी प्रतिवेदन तयार गरिने लुम्बिनी बौद्ध विश्वविद्यालयले जनाएको छ। आईएसडिसीकी बोर्ड सदस्य स्वाति थापाका अनुसार परियोजनाअन्तर्गत अध्ययन तथा अनुसन्धानसहित प्राज्ञिक क्षेत्रको नेतृत्व विश्वविद्यालयले गर्नेछ भने प्रदेश तथा स्थानीय तहसँगको समन्वय छायाँ नेपाल र समग्र परियोजनाको समन्वय आईएसडिसीले गर्नेछ। परियोजनाका लागि छायाँ नेपालले रु. १५ लाख आर्थिक योगदान गर्नेछ भने अनुसन्धानको गुणस्तर सुनिश्चित गर्न विश्वविद्यालयले प्राध्यापक तथा विज्ञ परिचालन गर्नेछ। सन् २०२७ जुलाईसम्म प्रतिवेदन तयार गर्ने कार्यादेश रहेको परियोजनाको रणनीतिक निर्देशन, प्रगति समीक्षा तथा अनुगमनका लागि तीनवटै संस्थाका प्रतिनिधि सम्मिलित अन्तरसंस्थागत सञ्चालन समिति गठन गरिनेछ। लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा. माणिकरत्न शाक्य, छायाँ नेपालकी अध्यक्ष सृष्टि सिलवाल र आईएसडिसीका अध्यक्ष सिद्धार्थबज्र बज्राचार्यले परियोजनासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको विश्वविद्यालयका रजिष्ट्रार इन्द्रप्रसाद काफ्लेले जानकारी दिए।