काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले विगतदेखि हुँदै आएको राजनीतिक हस्तक्षेपका कारण नेपाल एयरलाइन्सको अवस्था कमजोर बनेको बताएका छन्। शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उनले निगम सुधारका लागि अब सकारात्मक हस्तक्षेप आवश्यक रहेको बताए। महाप्रबन्धक नियुक्तिसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले कानुनी अड्चनका कारण नियुक्ति प्रक्रिया अघि बढाउन नसकिएको उनको भनाइ थियो। निगमका ६ वटा जहाजमध्ये एउटामा मात्रै समस्या आउँदा पनि उडान तालिका फेरबदल तथा यात्रु व्यवस्थापनमा ठूलो धनराशि खर्च हुने गरेको उनले बताए। विद्यमान संरचना र व्यवस्थापनबाट जहाज थप्दैमा मात्रै समस्या समाधान नहुने भन्दै मन्त्री पौडेलले पहिले संरचनागत सुधार आवश्यक रहेकोमा जोड दिए। नेपाल एयरलाइन्सलाई सुधार गरी अघि बढाउन साहसिलो निर्णय आवश्यक रहेको उल्लेख गर्दै उनले सरकारी निर्णय मात्र पर्याप्त नहुने बताए। बैठकमा समिति सदस्यहरूले पनि निगमको व्यवस्थापन निकै कमजोर रहेको धारणा राखेका थिए।