काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बिमस्टेक गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी हुन आज भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्। उनी दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारततर्फ लागेका हुन्। गृहमन्त्रीको कार्यभार सम्हालेयता गुरुङको यो पहिलो औपचारिक विदेश भ्रमण हो। बिमस्टेकअन्तर्गत सुरक्षा क्षेत्रको उच्चस्तरीय संयन्त्रको पहिलो बैठक भारतमा आयोजना हुन लागेको हो। उक्त संयन्त्रको परिकल्पना सन् २०१८ मा काठमाडौंमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनले गरेको थियो।
मंगलबार नयाँ दिल्लीमा हुने बैठकमा गृहमन्त्री गुरुङले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। बैठकमा बिमस्टेकका सातवटै सदस्य राष्ट्रका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्रीहरू सहभागी हुनेछन्। बैठकमा लागुऔषध ओसारपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण, आतङ्कवादी गतिविधिमा वित्तीय लगानी, आतङ्कवाद, विपद्जन्य सुरक्षा तथा साइबर अपराधजस्ता अन्तरदेशीय र क्षेत्रीय सुरक्षा चुनौतीका विषयमा छलफल हुनेछ। साथै, सुरक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न दस्तावेज पारित गर्नुका साथै घोषणापत्र जारी गर्ने कार्यक्रम पनि रहेको छ।
बैठकमा नेपालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको प्राकृतिक विपद्को जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणालीको सुदृढीकरण तथा एकीकृत उद्धार र राहतका लागि क्षेत्रीय सहकार्य अभिवृद्धि गर्ने विषयलाई प्राथमिकता दिनेछ। बिमस्टेक सदस्य राष्ट्रहरूमध्ये सबैभन्दा कम उमेरका गृहमन्त्री गुरुङले बैठकका क्रममा आफ्ना समकक्षीहरूसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रमसमेत रहेको छ। बैठकमा सहभागी भएर उनी असोज २८ गते बुधबार स्वदेश फर्किने कार्यक्रम छ।