डोल्पामा ३५ क्विन्टल अवैध जडीबुटीसहित ४ जना पक्राउ

डोल्पामा ३५ क्विन्टल अवैध जडीबुटीसहित ४ जना पक्राउ

डोल्पा, ९ चैत – शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको संयुक्त टोलीले त्रिपुरासुन्दरी नगरपालिका-१, त्रिपुराकोट बगर बजारमा ३५ क्विन्टल अवैध जडीबुटीसहित चार जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा त्रिपुरासुन्दरी–५ का ३६ वर्षीय नरेश बुढा, ३३ वर्षीय विकास रोकाया, सल्यान कुमाख–४ का २५ वर्षीय एलिश बुढा (ट्याक्टर चालक) र रुकुम पश्चिम आठबिस–७ का ४८ वर्षीय कृष्ण विक (ट्याक्टर चालक) रहेका छन्।

निकुञ्जका अनुसार १०१ बोरा जडीबुटी र दुईवटा ट्याक्टर नियन्त्रणमा लिइएको छ। पक्राउ परेकाहरूलाई अनुसन्धान तथा आवश्यक कारबाहीका लागि दोहोरो भरपाइसहित निकुञ्ज प्रशासन कार्यालयमा बुझाइएको छ। स्वास्थ्य परीक्षणको लागि जिल्ला अस्पताल दुनै लगिएको र बरामद जडीबुटी हाल निकुञ्जको नियन्त्रणमा छ।

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत विज्ञान सेनका अनुसार, अनुमति नलिई जडीबुटी संकलन गरी बाहिर लैजान लागिएको सूचना प्राप्त भएपछि संयुक्त गस्ती परिचालन गरिएको थियो। डोल्पामा हाल जटामसी (भुल्ते) संकलनमा प्रतिबन्ध छ भने पदमचाल संकलनका लागि कार्ययोजना अध्ययनपछि मात्र अनुमति दिइन्छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार