जेन–जी घाइतेकी दिदीको संसद् यात्रा

जेन–जी घाइतेकी दिदीको संसद् यात्रा

डडेलधुरा — अमरगढी नगरपालिका–५, सेलागाउँकी आकृति अवस्थी समानुपातिक सांसदको रूपमा संसद्मा प्रवेश गरेकी छन्। सामान्य परिवारबाट उठेर गैरसरकारी संस्थामा सक्रिय रही आफ्नो पहिचान बनाएकी उनले राजनीतिक मोड २३ भदौको जेन–जी आन्दोलन पछि लिइन्। उक्त दिन उनका माइला भाइ मुकेश अवस्थी संसद भवन नजिक प्रहरीको गोली लागेर घाइते भए र बायाँ खुट्टा गुमाउनुपर्‍यो, जसले अवस्थी परिवारमा गहिरो पीडा ल्यायो।

राजनीतिमा पहिले खास चासो नदेखाए पनि रास्वपाले जेन–जी आन्दोलनका घाइते परिवारका सदस्यलाई संसद्मा पुर्‍याउने प्राथमिकता दिँदा आकृतिले नयाँ भूमिका पाएकी हुन्। यसअघि गैरसरकारी क्षेत्रमा सामाजिक सचेतना र नागरिक सशक्तिकरणका गतिविधिमा सक्रिय रहेकी उनले संसद्मा आफ्नो अनुभव र प्रतिबद्धता लिएर प्रतिनिधित्व गर्ने अवसर पाएकी छन्।

सानैदेखि सामाजिक, खेलकुद र कला-संस्कृतिमा रुचि राख्ने आकृतिले कञ्चनपुरको ‘निड्स’ संस्थामा कार्यक्रम संयोजक को रूपमा समुदायमा विविध सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएकी छन्। संघर्ष, पीडा र सामाजिक प्रतिबद्धताले आकार दिएको उनको यात्रा अब समानुपातिक सांसदको पहिचान बन्न पुगेको छ।

प्रकाशित मिति : २०८२ चैत्र ९ गते सोमवार