काठमाडौं:भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे गठित आयोगले उक्त घटनालाई नेपालको इतिहासकै अभूतपूर्व देशव्यापी हिंसा र महाविध्वंशका रूपमा चित्रण गरेको छ। बानेश्वरमा भएको घटनापछि सामाजिक सञ्जालमार्फत फैलिएको जनआक्रोशमा विभिन्न स्थापित राजनीतिक दलका कार्यकर्ताहरू घुसपैठ गरी आन्दोलनलाई थप उग्र बनाएको निष्कर्ष निकालिएको छ। प्रतिवेदन अनुसार रास्वपा, एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपाका नेता–कार्यकर्ताहरू तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेका थिए।
आन्दोलनका क्रममा संघीय संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन तथा प्रधानमन्त्री निवासमा आक्रमण भएको थियो भने देशभर २० जनाको मृत्यु, १,३४२ थान हतियार लुटपाट, १४,५५५ कैदी फरार र करिब ८५ अर्ब रुपैयाँ बराबरको क्षति भएको उल्लेख गरिएको छ। आयोगले यसलाई सुरक्षा व्यवस्थामा भएको गम्भीर कमजोरीको परिणाम मान्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी नेतृत्वसहित उच्च पदस्थ अधिकारीहरूलाई कारबाही गर्न सिफारिस गरेको छ।
साथै, सामाजिक सञ्जालमा फैलिएका भ्रामक सूचना, विभिन्न समूहको उक्साहट र सुरक्षा निकायबीचको समन्वय अभावले हिंसा थप चर्किएको ठहर गरिएको छ। आयोगले अब विस्तृत अनुसन्धान गरी वास्तविक दोषी पहिचान गर्न टेलिफोन डेटा, सीसीटीभी फुटेज र अन्य प्रमाणहरूको प्रयोग गर्न सुझाव दिएको छ।