बुटवल — लुम्बिनी प्रदेशमा भैंसीको संख्या उल्लेख्य भए पनि दूध उत्पादन अत्यन्त न्यून रहेको तथ्यांकले देखाएको छ। प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा प्रदेशभर ७ लाख ५७ हजार २ सय भैंसी रहेका छन्। तर तीमध्ये मात्र २ लाख १६ हजार ७९२ भैंसी दूधालु छन्, जुन कुलको २८ प्रतिशत मात्र हो। बाँकी ७२ प्रतिशत अर्थात् ५ लाख ४५ हजार १८४ भैंसी अनुत्पादक छन्।
यो अवस्थाले किसानको ठूलो लगानी र मेहनतका बाबजुद उत्पादन र आम्दानी न्यून रहेको देखाउँछ। पशु विज्ञहरूका अनुसार भैंसीको नश्ल सुधार नहुनु र उन्नत जातको अभाव नै दूध उत्पादन कम हुनुको मुख्य कारण हो।प्रदेशको कुल भैंसीमध्ये ६२ प्रतिशत तराईका ६ जिल्लामा र ३८ प्रतिशत पहाड तथा हिमाली जिल्लामा रहेका छन्। तराईमा १ लाख ३३ हजार ६६० र पहाडमा ८३ हजार १३२ दूधालु भैंसी रहेका छन्। जिल्लागत रूपमा रुपन्देहीमा सबैभन्दा बढी १ लाख ७ हजार १९१ भैंसी छन् भने रुकुम पूर्वमा सबैभन्दा कम ९ हजार ८२० भैंसी रहेका छन्।
हाल प्रदेशमा वार्षिक ३ लाख ५५ हजार ५५६ मेट्रिक टन दूध उत्पादन हुन्छ। एउटा भैंसीबाट दैनिक औसत ४.६ लिटर मात्र दूध उत्पादन हुने गरेको छ।वरिष्ठ पशु चिकित्सक लोकराज भुसालका अनुसार अनुत्पादक भैंसीमध्ये आधाको मात्र नश्ल सुधार, गोठ व्यवस्थापन र नियमित स्वास्थ्य परीक्षण गर्न सके वार्षिक २५ अर्ब रुपैयाँ बराबरको अतिरिक्त दूध उत्पादन सम्भव छ। यसबाट २ लाखभन्दा बढी रोजगारी सिर्जना हुन सक्ने उनको भनाइ छ। उनले हालका दूधालु भैंसीको पोषण र स्वास्थ्य सुधार गरेर प्रतिदिन एक लिटर उत्पादन बढाउँदा मात्र पनि वार्षिक ३ अर्ब रुपैयाँ आम्दानी थप्न सकिने बताए।
यसैबीच प्रदेशका कृषि मन्त्री दिनेश पन्थीले भैंसीको नश्ल सुधारलाई प्राथमिकतामा राखिएको जानकारी दिएका छन्। उनले भैंसी स्रोत केन्द्र स्थापना आवश्यक रहेको उल्लेख गर्दै संघीय सरकारसँग १० करोड रुपैयाँ विशेष अनुदान माग गरिएको बताए।भैंसीमा लाग्ने खोरेत रोग प्रमुख चुनौतीका रूपमा रहेको छ, जसले ४० प्रतिशतसम्म दूध उत्पादन घटाउँछ। प्रदेश सरकारले यस रोग नियन्त्रणका लागि खोप, परजीवी नियन्त्रण, घरदैलो पशु सेवा, वाँझोपन निवारण लगायत कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरका प्राध्यापक डा. भूमिनन्दन देवकोटाका अनुसार नश्ल सुधारका लागि उत्कृष्ट भैंसी छनोट, कृत्रिम गर्भाधान विस्तार र मुर्रा जातसँग क्रसब्रिडिङ आवश्यक छ। उनले नश्ल सुधारबाट प्रतिवेत उत्पादन ८०० लिटरबाट २ हजार लिटरसम्म पुर्याउन सकिने बताए।
त्यस्तै, जंगली अर्ना र स्थानीय भैंसीको संयोजनबाट मासु उत्पादनमा पनि ठूलो क्रान्ति ल्याउन सकिने उनले उल्लेख गरे। हाल नेपाल विश्वमा भैंसी संख्यामा चौथो र दूध उत्पादनमा पाँचौं स्थानमा रहेको छ।