काठमाडौं । विश्व राजनीतिको केन्द्र मानिने पश्चिम एसियामा चर्किएको द्वन्द्व र तनावले यतिबेला विश्व अर्थतन्त्रलाई अनिश्चितताको भुमरीमा धकेलेको छ । तेल उत्पादनका प्रमुख केन्द्र र व्यापारिक मार्गमा देखिएको अवरोधका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यवृद्धि र आपूर्ति शृङ्खलामा आएको शिथिलताको प्रत्यक्ष असर नेपालजस्तो आयातमुखी अर्थतन्त्रमा पर्नु स्वाभाविक देखिन्छ । तर, नेपालका सन्दर्भमा यो बाह्य संकट मात्र कारण नभई बहानासमेत बनेको छ, जसको आडमा आन्तरिक बजारमा लुटतन्त्र र मूल्य अराजकता मौलाएको छ ।
नेपाली उपभोक्ता यतिबेला दोहोरो मारमा परेका छन् । एकातिर अन्तर्राष्ट्रिय कारणले लागत बढिरहेको छ भने अर्कोतिर आन्तरिक बजारमा बिचौलियाको सेटिङ र कृत्रिम महँगीले जनजीवन झन् कष्टकर बनाएको छ । पश्चिम एसियाको युद्धलाई ढाल बनाएर सीमित व्यापारीले उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, गोदाममा थन्किएका पुराना मौज्दात उच्च मूल्यमा बिक्री गर्ने र डलर भाउ वृद्धिको नाममा अत्यधिक नाफा असुल्ने प्रवृत्ति बढ्दो छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको तथ्यांकअनुसार गएको चैत महिनामा महँगीले उपभोक्तालाई झन् दबाबमा पारेको देखिन्छ । विशेषगरी तरकारी बजारमा मूल्यवृद्धि अत्यधिक भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजारको मूल्यलाई आधार मान्दा कतिपय तरकारीको भाउ ३ सय प्रतिशतभन्दा माथि पुगेको छ । स्थानीय काउलीको मूल्य ३०४.७६ प्रतिशत बढेको छ भने हाइब्रिड घिउसिमी ३ सय प्रतिशत र स्थानीय घिउसिमी २६६.६७ प्रतिशतले महँगिएको छ । फर्सी र ब्रोकाउलीमा क्रमशः २ सय र १ सय ८७ प्रतिशत मूल्यवृद्धि देखिएको छ ।
मौसमी प्रतिकूलता र ढुवानी भाडा वृद्धि पनि मूल्यवृद्धिका कारणका रूपमा उल्लेख गरिए पनि इन्धन मूल्यमा भएको बारम्बार समायोजन यसको मुख्य कारक मानिएको छ । फागुन र चैतमा मात्रै पेट्रोलियम पदार्थको मूल्य ६ पटकसम्म समायोजन गरिएको थियो । खाद्यान्नतर्फ काठमाडौं उपत्यकामा अन्य क्षेत्रको तुलनामा बढी मूल्यवृद्धि देखिएको छ । सोना मन्सुली चामल प्रतिकिलो ९५ रुपैयाँ, बासमती १८५ रुपैयाँ र जिरा मसिनो चामल १०२ रुपैयाँसम्म पुगेको छ । यस्तै मासको दाल १९०, मुसुरो दाल १८५ र चिनी १०० रुपैयाँसम्म पुगेको छ भने खाने तेलको मूल्यमा पनि वृद्धि देखिएको छ ।
विभागले माग र आपूर्तिको असन्तुलन, इन्धन मूल्यवृद्धि र बिचौलियाको सक्रियतालाई महँगीको मुख्य कारण ठहर गरेको छ । उत्पादनको सिजनमै मूल्य घट्नुको साटो बढ्नुले बजारमा अस्वाभाविक मूल्य निर्धारण भइरहेको पुष्टि हुन्छ ।
महँगीको मूल जड भने बाह्य कारणभन्दा बढी आन्तरिक कमजोरीमा देखिएको छ । कमजोर सरकारी नियमन, बजार अनुगमनको फितलो अवस्था र ‘बजार तह निर्धारण’ कार्यान्वयनमा देखिएको इच्छाशक्तिको अभावले समस्या जटिल बनेको छ । अनुगमन प्रभावकारी नहुँदा तल्लोदेखि माथिल्लो तहसम्मका व्यापारीले यसको फाइदा उठाइरहेका छन्, जसको सीधा असर उपभोक्तामा परेको छ ।
बजारमा स्वच्छताको अभाव, एकाधिकारवादी प्रवृत्ति र गैरकानुनी व्यापारिक गतिविधिबारे उपभोक्ताबाट व्यापक गुनासो आउने गरेको छ । तर, बजार अनुगमन प्रभावकारी बन्न नसक्दा यस्ता समस्या नियन्त्रणभन्दा बाहिर जाँदै छन् । परिणामतः नेपाली उपभोक्ता निरन्तर महँगीको चपेटामा परिरहेका छन् ।