सात वर्षदेखि प्रयोगविहीन झोलुङ्गे पुल

सात वर्षदेखि प्रयोगविहीन झोलुङ्गे पुल

दार्चुला । मालिकार्जुन गाउँपालिका–४, हुनैनाथस्थित ओजिगाड खोलामा निर्माण गरिएको झोलुङ्गे पुल सात वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको छ। पुल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि मुलबाटोसम्म पुग्ने पहुँचमार्ग निर्माण हुन नसक्दा स्थानीयले पुलको उपयोग गर्न पाएका छैनन्।विसं २०७५ वैशाख २ गते मालिकार्जुन गाउँपालिका र उपभोक्ता समितिबीच पुल निर्माणका लागि सम्झौता भएको थियो। ७७ दशमलव ४० मिटर लम्बाइ र १०६ सेन्टिमिटर चौडाइ रहेको उक्त पुल निर्माणका लागि ३८ लाख ६५ हजार २०८ रुपैयाँ खर्च भएको थियो। प्राविधिक सहयोग गर्ने संस्था समाज कल्याण समाजका ओभरसियर हरिश ठगुन्नाका अनुसार पुल आर्थिक वर्ष २०७६/७७ मा निर्माण सम्पन्न भएको हो।पुल निर्माण गर्दा खेत परेको जग्गाको जग्गाधनीले मुआब्जा लिएको स्थानीयले बताएका छन्। तर पुलभन्दा तल अर्काे व्यक्तिको जमिन पर्ने र त्यहाँबाट मुलबाटोसम्म पुग्ने बाटो नहुँदा पुल सञ्चालनमा आउन नसकेको स्थानीयको भनाइ छ।

मालिकार्जुन गाउँपालिका–४ का कार्यवाहक वडाध्यक्ष इन्द्रसिंह धामीका अनुसार अघिल्लो आर्थिक वर्षमा पुलसम्म पुग्ने घोरेटो बाटो निर्माणका लागि वडा कार्यालयले ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो। तर जग्गाधनीले आफ्नो खेतबाट बाटो दिन नमानेपछि बजेट कार्यान्वयन हुन नसकेको उनले बताए।पुल निर्माण भएर पनि प्रयोगमा नआएपछि स्थानीयले वडा कार्यालय र गाउँपालिकासँग पुल सञ्चालनका लागि आवश्यक व्यवस्था गर्न मौखिक तथा लिखित रूपमा आग्रह गर्दै आएका छन्। तर अहिलेसम्म समस्या समाधान हुन सकेको छैन।पुल सञ्चालनमा नआउँदा हुनैनाथ माध्यमिक विद्यालय चन्दनपुर, मालिकार्जुन गाउँपालिका–४ को वडा कार्यालय तथा स्वास्थ्यचौकीमा आवतजावत गर्ने स्थानीय तथा सेवाग्राहीले विशेषगरी वर्षायाममा समस्या झेल्दै आएका छन्। लाखौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएको पुल पहुँचमार्गको अभावमा प्रयोगविहीन बनेपछि स्थानीयले सम्बन्धित निकायसँग समस्या तत्काल समाधान गर्न माग गरेका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार