काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद अनुष्का श्रेष्ठले बालिकामाथि हुने जघन्य अपराध तथा महिलाविरुद्ध बढ्दो यौन हिंसाका घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले यसअघि संसदमा उठाइएको तीन वर्षीया बालिकामाथिको बलात्कारसम्बन्धी घटनामा सरकारले देखाएको तत्काल प्रतिक्रियाप्रति आभार व्यक्त गर्दै उक्त विषयमा तयार भएको भनिएको प्रतिवेदनमाथि भइरहेको कामबारे जानकारी मागिन्। उनले सरकारका विभिन्न जिम्मेवारी भए पनि बालिका तथा महिलामाथि हुने हिंसाको विषय राज्यको प्राथमिकताबाट हराउन नहुने बताइन्। भारतमा उठिरहेको आवाज तथा कर्नेल विश्वविद्यालयसँग जोडिएको घटनाको प्रसङ्ग उल्लेख गर्दै सांसद श्रेष्ठले महिलाविरुद्धको यौन हिंसा कुनै एक समाज वा समुदायको मात्र समस्या नभएको बताइन्। यस्तो हिंसा अन्त्य गर्न राज्य, समाज र व्यक्तिको तहबाट एकसाथ प्रयास आवश्यक रहेकोमा उनले जोड दिइन्।