काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङको बीचमा रहेको सिरिङ्गे हिमालमा आइतबार बिहान हिमपहिरो गएपछि बुढीगण्डकी नदीमा भीषण बाढी आएको छ। हिमपहिरोका कारण उइनगुलुङ खोला र बुढीगण्डकी नदी थुनिएर बनेको प्राकृतिक बाँध खुलेपछि नदीमा पानीको बहाव एक्कासि बढेको हो। बाढीले गोरखाका विभिन्न स्थानमा दुईवटा झोलुङ्गे पुल र दुईवटा मोटरेबल पुलमा क्षति पुर्याएको छ। चुमनुब्री गाउँपालिका–३ न्याकचेतमा सिर्दिबास जोड्ने झोलुङ्गे पुल र धार्चे गाउँपालिका–५ मा केरौजा जोड्ने झोलुङ्गे पुल बगाएको छ। त्यस्तै, आरुघाट गाउँपालिका–२ र ३ जोड्ने फलामे मोटरेबल पुल तथा आरुघाट गाउँपालिका–९ मा रहेको मोटरेबल पुलमा समेत क्षति पुगेको छ। बाढीका कारण पाँच जना सम्पर्कविहीन भएको सूचना प्राप्त भएपछि प्रहरीले उनीहरूको खोजी सुरु गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। चुमनुब्री गाउँपालिका–३ सिर्दिबासका रामबहादुर गुरुङको कच्ची घर बगाएको छ भने अन्य घरहरूमा समेत बाढी पसेको छ। धार्चे गाउँपालिका–५ मा पाँचदेखि सातवटा घरटहरामा बाढी पसेको छ भने सल्लेरीका करिब २२ वटा घर जोखिममा परेका छन्। सल्लेरीस्थित निर्माणाधीन सहज ऊर्जा पावर हाउस र आसपासका सातदेखि आठवटा घरसमेत बाढीले बगाएको जनाइएको छ। घटनापछि खोज तथा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर चुमनुब्री गाउँपालिका–३ को सिर्दिबास र हिमपहिरो गएको क्षेत्रमा परिचालन गरिएको छ।