बूढीगण्डकीमा गेग्रानसहितको बाढी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बूढीगण्डकीमा गेग्रानसहितको बाढी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा पानीसँगै गेग्रानसमेत मिसिएर आएको बाढीले जलमापन केन्द्र र पुल बगाएको छ। बाढीको बहाव निरन्तर घटबढ भइरहेकाले बूढीगण्डकी, त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा आइतबार साँझसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।मौसम विभागका वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीका अनुसार बाढीले जलमापन केन्द्र र पुल बगाउनुअघि नदीको जलसतह ९.५ मिटर पुगेको तथ्याङ्क प्राप्त भएको थियो। गेज रिडरबाट प्राप्त जानकारीअनुसार बाढीको सतह पुलभन्दा करिब १ देखि २ मिटरसम्म माथि पुगेको थियो। बाढीले जलमापन केन्द्रसमेत बगाएकाले त्यसपछि थप तथ्याङ्क प्राप्त हुन नसकेको उनले बताए।

बाढीको सम्भावित प्रभावलाई ध्यानमा राख्दै बूढीगण्डकी र त्रिशूली नदीको दोभान आसपासदेखि बेनीघाटसम्मको क्षेत्रलाई अति उच्च जोखिममा राखिएको छ। त्रिशूली नदीको बहाव करिब तीन मिटर बढ्न सक्ने अनुमान गरिएको छ भने मुग्लिनसम्मको क्षेत्रलाई उच्च र मुग्लिनभन्दा तलको क्षेत्रलाई मध्यम जोखिममा राखिएको छ।

त्यस्तै, देवघाटमा हाल करिब चार मिटर रहेको जलसतह थप साढे दुई मिटर बढेर ६.५ देखि ७ मिटरसम्म पुग्न सक्ने अनुमान गरिएको छ। जलसतह सतर्कता तहभन्दा तलै रहने सम्भावना भए पनि चितवन र नवलपरासीका नदी तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। प्राप्त भिडियो फुटेजमा पानीसँगै गेग्रानसमेत बगिरहेको देखिएकाले बाढीको वास्तविक कारणबारे थप अध्ययन भइरहेको पराजुलीले जानकारी दिएका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार